भारतमा ओमिक्रोन भेटिएपछि नेपालमा त्रास, खोप लगाएकालाई पनि जोखिम

हङकङ लगायत ९ वटा देशबाट नेपाल आउन रोक

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको तीब्र संक्रमण भारतमा समेत पुष्टि भएसँगै नेपालमा यसको त्रास बढेको छ । खुला सिमाना भएको छिमेकी देश भारतमा बिहीबार दुई जनामा नयाँ भेरिएन्ट पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । ६६ वर्ष र ४६ वर्षका पुरुषमा यो भेरिएन्ट पुष्टि भएको छ । सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा यो भेरिएन्ट पुष्टि भएकोमा बिहीबार साँझसम्म भारत गरी ३० देशमा फैलिसकेको छ र ३७५ जना संक्रमित भइसकेका छन् ।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा गरिसकेको यो भेरिएन्ट ठूलो संख्यामा उत्परिवर्तित भएको र तीव्र रूपमा फैलिने भन्दै वैज्ञानिकहरुले बताइरहेका छन् । दक्षिण अफ्रिका, अमेरिका, क्यानडा, बोट्सवाना, जर्मनी, इजरायल, बेलायत, बेल्जियम आदि देशमा यो भेरिएन्ट देखा परिसकेका छन् ।

संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले यो भेरिएन्ट संक्रमणशील भएको अनुमान गरिएकाले संसारमै फैलिरहेको बेला भारतमा देखिनु स्वाभाविक भएको बताए । उनका अनुसार नेपालसँग अझै पनि केही हप्ताको समय बाँकी रहेको छ ।‘नेपालमा आउनै नसक्ने बनाउन त सकिँदैन तर एकैचोटी यो भेरिएन्ट धेरै संख्यामा नआओस् भनेर कोसिस गर्न सक्छौं ’उनले भने ।

उनले हवाईमार्गबाट बढी संक्रमण आउन सक्ने भन्दै आउने यात्रुलाई अनिवार्य क्वारेन्टाइन, खोप लगाए पनि परीक्षण गर्नुपर्ने बताए । डा अनुप भन्छन् –‘भारतमा केश बढ्न थालेपछि नाकामा समस्या हुन सक्छ । स्थायी खालको क्वारेन्टाइन बनाउने कुरा गरिएको छ त्यो तुरुन्त काम थालनी गरिहाल्नुपर्छ । अनि नाकामा परीक्षण गर्न सक्ने बन्दोबस्त गर्न सक्नुपर्छ । त्यसो गर्दा सुरुमा धेरै मान्छे पस्न पाएनन् भने एकैचोटी संक्रमणको संख्या ह्वात्तै बढ्दैन। अलिकति नियन्त्रित तरिकाले बढ्छ र त्यसले हामो स्वास्थ्य संयन्त्रण अस्तव्यस्त बनाउन सक्दैन।’

उनले नेपाल छिर्ने यात्रुको कडाइ नगरे तथा परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गर्न सकिएन भने ठूलो लहरको सामना गर्नुपर्ने खतरा रहेको औंल्याए । उनका अनुसार खोप सकेसम्म धेरैलाई लगाउन आवश्यक रहेको र फ्रन्टलाइन कर्मचारीहरुलाई बुस्टर डोज लगाउनुपर्ने सुझाए । उनका अनुसार सरकारले अहिले नेपालमा कोरोना संक्रमणको संख्या कम भएको हुँदा नै परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङ अहिले नै समुदायमा गरिए परिस्थिति नियन्त्रणभन्दा बाहिर जान सक्दैन ।

ओमिक्रोनको जोखिमका कारण सरकारले बुधबार आवश्यक नपरेको खण्डमा विदेश भ्रमण नगर्न आग्रहसमेत गरेको छ । स्वास्थ्य मन्त्रालयले दक्षिण अफ्रिकाबाट आउनेहरूको हेल्थ डेस्कमा परीक्षण, सिक्वेसन्सिङ र क्वारेन्टाइन गरिरहेको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले सरकारले भारतमा देखिएसँगै नेपाल पनि जोखिममा भएकाले यसतर्फ सचेत रहेको बताउँदै आवश्यक निगरानी गरिरहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार