अस्पतालबाट प्रधानन्यायाधीश राणाको जवाफ- ‘भोलि डिस्चार्ज हुन्छु, त्यसपछि छलफल गरौंला’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन् ।

कोरोना संक्रमणपछि बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत रहेका प्रधानन्यायाधीश राणाले शुक्रबार आफू डिस्चार्ज हुने र छलफल गर्ने जवाफ दिएका हुन् । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशको आन्तरिक छलफलमा न्यायाधीश हरिकृष्ण कार्कीले जबरालाई टेलिफोन गरेका थिए । त्यसको जवाफमा राणाको भनाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘भोलि अस्पतालबाट डिस्चार्ज हुनछु । त्यसपछि बसेर कुरा गरौं ।’

प्रधानन्यायाधीश राणाको यस्तो जवाफले कायममुकायम प्रधानन्यायाधीशको विवाद तत्काललाई टुंगिएको बताइएको छ । ‘न्यायाधीशहरूबीच लामो छलफल भयो। तर कायममुकायम प्रधानन्यायाधीशबारे टुंगो लागेन । अब प्रधानन्यायाधीश राणाकै प्रतिक्षा गर्ने निर्णयमा पुगेका छौँ’ बैठकमा सहभागी सर्वोच्चका एक न्यायाधिशले जानकारी दिए ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले भने प्रधान्यायाधीशबिनाको सर्वोच्च हुन नसक्ने भन्दै तत्काल कायम मुकायम प्रधानन्यायाधीश तोक्न र न्यायाधीशहरूलाई खुट्टा लरबराउने काम नगर्न दबाब दिइरहेको छ ।

बिहिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले पनि लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायधीश बिरामी परेकाले तत्काल कार्यवहाक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएको थियो ।

बिहीबार अदालतमा ढिला गरी पेशी तोकिएको छ । वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको एकलसहित १० वटा इजलास तोकिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार