इच्छाराजबाट ठगिएका सिभिल सहकारी पीडितद्वारा माइतीघरमा धर्ना

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङबाट ठगिएका सिभिल सहकारीका बचतकर्ता काठमाडौंको माइतीघरमा धर्ना बसेका छन् ।

पीडित बचतकर्ताले इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना शाक्य तामाङ र हालका अध्यक्ष केशवलाल श्रेष्ठसहितलाई कारवाही गरेर आफूहरूमाथि न्याय गर्न माग गरेका छन् ।

सहकारी विभागले ठगीतर्फ आँखा चिम्लि दिएको र नेपाल राष्ट्र बैंकले ५० करोडभन्दा माथि वार्षिक लेनदेन हुने सहकारीको गतिविधि अनुगमनसमेत नगरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । सहकारीबाट विगत तीन वर्षदेखि पैसा झिक्न नपाएकाले आफूहरुको बचत फिर्ता गर्न र संगठित अपराधीलाई कारवाही गर्न माग गर्दै आन्दोलन सुरु गरेको संघर्ष समितिका संयोजक उज्ज्वल सत्यालले बताए ।

पीडित बचतकर्ताहरूले संगठित ठगीका गिरोहलाई कारवाही गर्नुपर्ने, कानून सुधार गर्नुपर्ने, आफूहरूको बचत फिर्ता गर्नुपर्ने भन्दै सरकारसँग माग गरेका छन् ।

इच्छाराजविरुद्ध अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी वकिललाई प्रतिवेदन बुझाइसकेको छ ।

प्रहरीले बुझाएको प्रतिवेदनमा ८ वर्ष कैद र ५ अर्ब ५९ करोड रूपैयाँ बराबरको जरिवाना माग गरिएको छ । एक हजार ४ सय ८७ जनाले ठगी गरेको भन्दै उजुरी दिएको आधारमा प्रतिवेदन पारिएको प्रहरीले जनाएको छ ।

सोल्टीमोडमा रहेको सिभिल सहकारी संस्थाको संस्थापक अध्यक्ष रहेको बेला तामाङले निक्षेपकर्ताको रकम आफ्नै रियलस्टेट कम्पनीमा लगानी गरेर सहकारीको पैसा हिनामिना गरेको भनेर पीडितले उजुरी हालेका छन् ।

पीडीतहरुले आजै प्ले कार्ड सहित नारा लगाउँदै जिल्ला सहकारी वकिल कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् । त्यसपछि महान्याधिवक्ता र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार