प्रधानन्यायाधीशलाई बिदा बसेर कार्यवाहक तोक्न सत्ता गठबन्धनको सुझाव

सत्तागठबन्धन दलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकले प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

प्रधानन्यायधिशको राजीनामा माग गर्दै नेपाल बारको अगुवाईमा भइरहेको आन्दोलनका कारण सर्वोच्चको कामकारवाही प्रभावित भएको छ ।

बुधबार सर्वोच्च अदालतमा पहिलो पटक गोला प्रक्रियाद्वारा इजलास तोकिएपनि प्रधानन्यायधिश विरामी भएका कारण कायममुकायम तोक्नुपर्ने भन्दै कानुन व्यवसायीले विरोध गरेपछि इजलास प्रभावित भएको छ । प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भएपछि अस्पतालमा भर्ना भएका छन् । जबरा विभिन्न विवादमा मुछिएपछि उनको राजीनामा माग्दै कानून व्यवसायीहरुले आन्दोलन गर्दै आएका छन् ।

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतका नेताहरु सहभागी थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार