संसदीय समिति सदस्य परिवर्तन: कार्यव्यवस्थामा माधव समूहका हटाएर ओली निकटका सांसदहरू

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादमा तानिएका बाँस्कोटा लेखा समितिमा

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्य हेरफेर गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख सापकोटाले समितिका सदस्यको हेरफेर सम्बन्धी सूचना सुनाएका हुन् । कार्यव्यवस्था परामर्श समितिमा एमालेबाट खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ, लालबहादुर थापा र विशाल भट्टराईलाई राखिएको छ । कार्यव्यवस्था परामर्श समितिमा रहेका एमालेका माधवकुमार नेपाल समूहका सांसदहरूलाई हटाएर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका सांसदहरूलाई जिम्मेवारी दिइएको हो ।

घनश्याम भुसाललाई अर्थ समितिमा जिम्मेवारी दिइएको छ भने योगेश भट्टराईलाई शिक्षा तथा स्वास्थ्य समितिमा पठाइएको छ । अर्थ समितिमा प्रधानमन्त्री ओलीका प्रमुख आर्थिक सल्लाहकारसमेत रहेका सांसद मोतिलाल दुगडलाई पठाइएको छ । माओवादीका कृष्णबहादुर महरालाई अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिमा पठाइएको छ भने माओवादी केन्द्रका वर्षमान पुनलाई अर्थ समिति, विना मगरलाई विकास तथा प्रविधि तथा गिरिराजमणि पोखरेललाई शिक्षा समितिमा पठाइएको छ ।

सार्वजनिक लेखा समितिमा पनि एमालेले सदस्य थपेको छ । जसमा गोकुल बाँस्कोटा र राजेन्द्र गौतम रहेका छन् । दुवै ओली पक्षका सांसद हुन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादमा तानिएका बाँस्कोटालाई त्यही विषयमा छानबिन गरेको सार्वजनिक लेखा समितिमा राखिएको हो । त्यस्तै ओम्नी प्रकरणमा विवादित उपप्रधानमन्त्री ईश्वर पोखरेलका निकट गौतमलाई पनि लेखा समिति सदस्यमा राखिएको छ । त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिमा पनि खेम लोहनी, महेश बस्नेत र दामोदर भण्डारीलाई थप गरिएको छ । एमालेले उनीहरूलाई थप गर्नका लागि सिफारिस गरेको थियो ।

बैठकमा राष्ट्रिय सुचना आयोगको वार्षिक प्रतिवेदन २०७६–२०७७ पेश गरिएको छ । प्रतिनिधि सभाको बैठक वैशाख ७ गतेसम्मको लागि स्थगित भएको छ ।

Loading...