जब मन्त्री प्रेम आले नै माइक्रोबसमा कोचिएर यात्रा गरे

पर्यटनमन्त्री नियुक्त भएपछि एकपछि अर्को लोकप्रिय निर्णय गरेर वाहीवाही कमाएका पर्यटनमन्त्री प्रेम आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रका लागि निशुल्क बस सेवा सञ्चालनमा ल्याएका छन ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक बस सेवाको शुभारम्भ भएको छ । यसको शुभारम्भ कार्यक्रममा मन्त्री आलेले यात्रुले सवारी साधनको अभावमा महंगो शुल्क तिरेर ट्याक्सी चढ्नुपर्ने बाध्यता कम गर्न बस सेवा सञ्चालनमा ल्याएको बताए ।
रिवन काटेर सेवाको उद्घाटन गरेका मन्त्री प्रेम आले यात्रुसँगै बसेर सार्वजनिक सवारी साधनमा यात्रा गरेका थिए । विमानस्थलको आन्तरिक हवाइ सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो ।

विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो । निशुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरिएको छ । हाल विमानस्थल भित्रैका लागि शुरु भएको निशुल्क बस सेवा निकट भविष्यमै पुरै चक्रपथ परिक्रमा गर्न मिल्ने गरि बिस्तार गर्ने तयारी भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि मंहगो मुल्य तिरेर ट्याक्सीमा यात्रा गर्नुपर्ने बाध्यता हट्ने विश्वास छ ।

यस्तै श्रम गन्तव्यमा जाने यात्रुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घर पनि सञ्चालनमा ल्याइएको छ । पर्यटन मन्त्री आलेले यस्को उद्घाटन गर्दै गाउँदेखि रोजगार कम्पनीसम्म ठगीमा पर्ने नेपाली श्रमिक तथा कामदारलाई विमानस्थलमा राहतस्वरूप विश्राम घर सञ्चालनमा ल्याइएको बताए ।

 

यसअघि श्रमिकहरु विदेश जानुअघि टर्मिनल बाहिर उभिनुपर्ने बाध्यता थियो । अहिले सञ्चालनमा ल्याइएको विश्राम घरमा तातो चिसो पानी, टेलिफोन, टिभी, मोबाइल चार्जर, फ्लाइट डिस्प्ले, वाईफाई र मन्त्रालयरविमानस्थलको हटलाइन नम्बर राखिएको छ ।

वैदेशिक रोजगारमा जाने यात्रुले ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्न सक्नेछन् । अहिले २५ जना क्षमता भएको विश्राम घरलाई चाँडै ३ सय व्यक्ति अटाउने क्षमताको बनाइने योजना रहेको मन्त्री आलेले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार