यसरी निस्कन सक्छ ढलबाटै बिजुली

जहाँ बस्ती बाक्लो हुन्छ त्यहाँ सबैभन्दा बढी फोहोरमैला र ढलको निष्काशन हुने गर्दछ । त्यो फोहोरमैलाको उचित व्यवस्थापन गर्न नसके सभ्यता र स्वास्थ्यमै चुनौति थप्ने गर्दछ । अहिले विभिन्न प्रविधि र उपायबाट हरेक बस्तुको उपयोग पटक पटक गर्न सकिने भएको छ । प्रयोग भइसकेका अधिकांश वस्तुको पुनरुत्पादन गरी अन्य प्रयोजनमा प्रयोग गर्दा त्यसको पनि व्यवस्थापन हुने र अर्को प्रयोगमा पनि आउने भएकोले यसबाट दोहोरो फाइदा हुन्छ । अबका हाम्रा योजनाहरु त्यसतर्फ केन्द्रित हुनु जरुरी छ । नेपालका प्रायजसो शहरहरु फोहोरग्रस्त र प्रदूषित छन् । मानवीय क्रियाकलापको कारणले गर्दा नै त्यस्ता फोहोरको व्यवस्थापन हुन नसकेको स्पष्ट छ । यदि हामीले भित्रै मनबाटै आफ्नो ठाउँलाई सफा स्वच्छ र हरावरा बनाउन चाह्यौँ भने त्यो सहजै संभव छ ।

काठमाण्डौ उपत्यका विश्वका प्रदुषित शहरमध्ये अग्रस्थानमै पर्न आउँछ । फोहरमैला र ढलको व्यवस्थापनमा हुने कमजोरीका कारण यहाँका प्राय सबै स्थान तथा नदीनालाहरु समेत दुर्गन्धित बनिरहेका छन् । मन्दिरै मन्दिरको हाम्रो पवित्र शहर अपवित्र बनेको छ साथै यहाँका प्राकृतिक र सांस्कृतिक सम्पदाहरुको सौन्दर्यता समेत मेटाइदिएको छ । मानिसहरु हिडँडुल गर्दासमेत सिकसिको मान्ने गर्दछन् । जसले गर्दा हाम्रो शहर कुरुप बनेको छ । फोहोरको व्यवस्थापन भएन भने चारैतीरको शोभा हराएर जान्छ । मानिसको स्वास्थ्यमा अनेकौँ चुनौति र समस्याहरु थपिन्छन् । जसको असर ज्यादै भयावह नै हुन्छ । त्यसको लागि फोहोर व्यवस्थापनका स्पष्ट योजनाअनुसार अगाडी बढ्नुपर्छ । ढलहरुको अस्तव्यस्तताले पवित्र नदीहरु पनि ढलाम्य बनेका छन् ।

नेपालमा फोहोरबाट विजुली निकाल्ने योजनाहरु पनि सार्वजनिक भइसकेका छन् । यसको चर्चा पनि व्यापक भइसकेको छ । समस्या त्यसको उचित कार्यान्वयनमा देखिएको छ । फोहोरबाट विजुली र ग्यास उत्पादन गर्नको लागि फोहोरको पनि कुनै कमि छैन । त्यसको लागि लगानी बोर्डमार्फत् विदेशी कम्पनीले पनि त्यसको लािग काम सुरु गर्न थालेका छन् । केही ठाउँमा त केही ठोस काम पनि भइसकेका छन् । यदि त्यो प्रकृया राम्रोसँग अगाडी बढ्यो भने फोहोरको उचित व्यवस्थापनका साथै उर्जाको थप सहयोग हुँनेछ । फाहोरमैला जस्तै काठमाण्डौ लगायतका शहरको अर्को समस्या भनेको ढलको समस्या हो । अन्य ठाउँमा जस्तै ठूला ठूला किसिमका नदी नहुँुनु र ढलको उत्सर्जन व्यापक रुपमा हुनुले यहाँको विकराल समस्यालाई चित्रण गर्दछ । बाटाघाटामा ढलहरु फुट्ने र वरिपरिको वातावरण दुर्गन्धित बनाउने र बाटो समेत हिलाम्य भइरहेका छन् । अझ यस्तो समस्या हिउँदमा भन्दा वर्षात्को समयमा वढी देखिन्छ । सम्बन्धित निकायले त्यसको लागि पनि उचित उपायहरु अपनाउनुपर्ने आवश्यकता तत्काल खड्केको छ ।

यसै समस्यालाई सम्बोधन गरी अब काठमाण्डौँको ढललाई एकत्रित गरेर त्यसलाई प्रशोधन गर्ने र त्यसबाट विद्युत उत्पादन गर्ने तयारी भएको छ । यद्यपि यसको व्यवसायिक उत्पादन भने भइसकेको छैन । त्यसको लागि विभिन्न विदेशी कम्पनीले लगानी गर्ने तयारी गरिहेका छन् । यस्तो योजनाअनुुुुसार काम भयो भने पक्कै पनि काठमाण्डौमा रहेको यो विकराल समस्याको सम्बोधन हुनेछ ।
केही वर्षभित्रै काठमाडौंको सबै ढल प्रशोधन गरेर खोलामा मिसाउने काम मात्रै सुरु हुने छैन, त्यसबाट बिजुली पनि निकालिनेछ । ढलबाट बिजुलीको व्यवसायिक उत्पादन भने हुने छैन । अहिले उपत्यकाका लगायत  काठमाडौंका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माणको काम भइरहेको छ । गोकर्णमा निर्माण सुरु गर्न अध्ययन हुँदैछ । अब त्यसमध्ये दुई ठूला प्रशोधन केन्द्रमा ३ वटा विशेष युनिटहरु राखेर ढलबाट बिजुली निकाल्ने योजना छ ।

हाल गुह्येश्वरीमा ढल प्रशोधन केन्द्र निर्माणको काम धमाधम भइरहेको छ भने सल्लाघारी, कोड्कु, धोबीघाट र गोकर्णमा ढल प्रशोधन केन्द्र निर्माणको प्रक्रिया अघि बढेको छ । बिजुली भने धोबीघाट र गुह्येश्वरीबाट मात्रै निस्कनेछ । प्रशोधन केन्द्रमा ढल पुगेपछि त्यसलाई विभिन्न चरणमा प्रशोधन गरिनेछ । ढल प्रशोधन गर्दा त्यसबाट ग्यास निस्कनेछ । त्यो ग्यासलाई प्रयोग गरेर बिजुली निकालिने छ । यस्तै अन्य ठाउँमा पनि ढल प्रशोधन केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ । त्यसको लागि विभिन्न समितिले अध्ययन गरिरहेका छन् । यो योजनाअनुसार काम सम्पन्न भएमा काठमाण्डौँवासीले छिट्टै राहतको सास फेर्न पाउनेछन् । सम्बन्धित निकायले पनि अब केही वर्षमै काम सम्पन्न गर्ने गरी तयारी थालेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार