भीम रावललाई भारी मतान्तरले पराजित गर्दै दोस्रो पटक एमाले अध्यक्ष बने केपी ओली

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः पाँच वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

चितवनको सौराहामा सम्पन्न पार्टीको १०औं राष्ट्रिय महाधिशनमा भीम रावललाई भारी मतले पराजित गर्दै ओली अध्यक्ष बनेका हुन् ।

अध्यक्ष अ‍ोलीले १८ सय ४० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी रावलले २ सय २३ मत प्राप्त गरेका छन् । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आएका छन् । नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बनेका थिए । १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गरेका थिए ।

यस्तै, नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक चितवनको सौराहामै हुने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार