यसरी हुन्छ काठमाण्डौमा मानव खप्परको कारोबार, एउटैको मुल्य १० लाखसम्म

पछिल्लो समय मृत मानवको खप्पर तथा विभिन्न अंगहरु बिक्री गर्ने गिरोह सक्रिय बन्दै गएका छन् । देशकै राजधानी तथा अन्य सहरमा मान्छेको मृत शरीरलाई चिहानबाट निकालेर मानव अंगहरु बिक्री वितरणको गिरोहहरू सक्रिय रहेको पाइएको हो । आइतबार मात्रै काठमाडौँमा मानव खप्परको कारोबार भइरहेको बेला प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गत वर्ष पनि जुवाडेहरुले मानव अङ्गको खप्पर प्रयोग गरी जुवाखेलीरहेको बेला प्रहरीले समातेको समाचार पनि प्रकाशित भएको थियो । काठमाडौँ प्रहरी परिसरका प्रहरी निरीक्षक अनिल ठाकुरको नेतृत्वमा खटिएका टोलीले त्यस्तो कारोबार गरिरहेका निम तामाङ र छिरिङ तामानलाई पक्राउ गरेको हो ।
यसरी राजधानीमा मावन खप्परको कारोबार दैनिक रूपमा हुने गरेको बताइन्छ । मानिसको शव माटोबाट उत्खनन गरी खप्परलार्ई धार्मिक कार्यमा प्रयोगका लागि लाखौँ रुपैयाँमा कारोबार हुने गरेको बताइएको छ ।
काठमाडौँमा यस्तो प्रकारको कारोबार यस भन्दा पहिले पनि भएको थियो । परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार उनीहरूले सुन्दरीजलको चिहानबाट खनेर खपटा ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको हो । मानव खप्पर ७ लाख देखि ८ लाख सम्म कारोबार हुने गरेको स्रोतले बताएको छ । यसरी बिक्री हुने मानव अङ्गका खप्परहरू विभिन्न देशमा कारोबार हुने गरेकोे प्रहरीको अनुसन्धानले देखाएको छ ।
यस अघि टिभी अन्नपूर्णले जुवा जित्न मान्छेको रगतको टिका, करोडौंका व्यापार भन्ने शीर्ष समाचार प्रकाशन गरेको थियो । त्यसैबाट पनि जान्न सकिन्छ कि खुलेयाम मानव शरीरको खप्पर तथा हातका पंजाहरुमा मोलतोलको व्यापार हुने गरेको हो । राजधानी तथा बाहिरका जिल्लाहरूमा पनि खुलेयाम यसको व्यापार भइरहेको देखिन्छ ।
भारतमा प्रसिद्ध तान्त्रिकहरुले प्रयोग गर्ने इन्द्रजाल भन्ने पुस्तकमा उल्लेख भएअनुसार यस्ता वस्तु प्रयोग गर्ने गरेको जुवाडेहरुको बुझाई छ । यसो त प्रहरीले केही महिनाअघि राजधानीको विभिन्न स्थानमा मानव  अस्पिञ्जरहरुको खरिदबिक्रीमा सक्रिय भएको आरोपमा चावहिलको मित्रपार्कबाट केहीलाई पक्राउ समेत गरेको थियो । प्रहरीलाई प्राप्त सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले जडीबुटीको पसल गरेर बस्ने एक तान्त्रिकको पसलमा छापा मारेर केही मानवअंगसमेत बरामद गरेको थियो । पेशेवर जुवाडे र राजधानीका क्यासिनो पुग्ने सम्भ्रान्त परिवारका सदस्यहरूमध्ये केहीले यस्ता वस्तु करोडौं मूल्य तिरेर खरिद गर्ने गरेको भए पनि धेरैले भाडामा लैजाने गरेको खुलेको थियो । अनौठो त यो छ, इन्द्रजाल लगायतका तान्त्रिक पुस्तकमा उल्लेख भएको भन्दै मान्छेको आलो रगतको टिका लगाए शत्रु नासिने गलत विश्वासका कारण मान्छेको रगतको टिका लगाउनेहरुसमेत तान्त्रिककोमा आउने गरेको सुनाएका थिए ।
करोडौँ रकम खर्चेर तान्त्रिक विधिअनुसार राखिएको मानव अस्थिपञ्जरको खरिदबिक्री बढेपछि तान्त्रिकहरुले राजधानीको श्लेषमान्तक, गुहेश्वरीका साथै आसपासका अन्य नदिनालाबाट यस्ता वस्तु जम्मा गर्ने गरेका छन् ।

मृत्युपछि गाडिएको सबका अस्थिपञ्जर उधिनेर घरमा राखेर भाडा दिने तथा बिक्री गर्ने गरेको काठमाडौँको वनस्थली क्षेत्रमा बस्ने एक तान्त्रिक बताउँछन् । केही समयअघिसम्म पशुपति गौशाला क्षेत्रमा बसेर यस्तो कारोबार गर्ने गरेका उनले प्रहरीले सो क्षेत्रमा निगरानी बढाएपछि वनस्थलीबाट आफ्नो कारोबार सुरु गरेको बताए ।

प्रहरीले बेलाबेला विभिन्न घटनामा पक्राउ पर्ने तान्त्रिकका साथबाट समेत मानव खप्पर खरिदबिक्री भइरहेको आधारमा सोही समय गौशाला, चावहिल, गुह्येश्वरीसहितका स्थानमा खोजी गरेको थियो । चिहानबाटै निकालेर समेत खरिदबिक्री हुने गरेको प्रहरीले जानकारी दिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार