राजधानीमा छैन खाली ठाँउ, भूकम्प आए भाग्ने कता ?

राजधानीका सार्वजनिक खुला ठाउँमा भौतिक संरचना बन्ने क्रम तीव्र छ । भूकम्पलगायतका विपत्तिमा सर्वसाधारणले ज्यान जोगाउन निस्कनुपर्ने यस्ता ठाउँ मासिंदै जाँदा पनि स्थानीय जनप्रतिनिधि तातेका छैनन् ।

  • २४ कात्तिक २०७२ मा काठमाडौंको पुरानो बसपार्कमा व्यापारिक ‘भ्यू टावर’ को शिलान्यास भयो । त्यसपछि बसपार्क खुलामञ्चमा सारियो । राजनीतिक दलहरूले सभा गर्ने, घुमन्तेहरू टहलिने खुलामञ्च अहिले पार्किङस्थल बनेको छ । असन, इन्द्रचोकलगायत वरिपरिका पुराना बस्तीका बासिन्दाको सामान्य अवस्थामा टहलिन निस्कने ठाउँ र प्राकृतिक विपत्को आश्रय स्थल खुलामञ्च अहिले वीर अस्पतालको स्टोर समेत बनेको छ । १२ वैशाख २०७२ को भूकम्पमा बसपार्क र खुलामञ्चमा स्थानीयले थुप्रै रात बिताएको धेरैले देखेका थिए । तर आज यो सार्वजनिक स्थल मासिंदा पनि यसो गर्नुहुन्न भनेर कोही तातेको छैन ।

काठमाडौं महानगरपालिकाले उपत्यकाको दृश्यावलोकन गर्न सकिने गरी पुरानो बसपार्कमा व्यापारिक भवन बनाउँदैछ । महानगर र जलेश्वर स्वच्छन्द बिकोई विल्डर्स कम्पनीका मनोजकुमार भेटवालबीचको सम्झौता अनुसार निर्माण सम्पन्न भएपछि भेटवालको कम्पनीले ‘तीस वर्षसम्म भोगचलन गर्न पाउने’ छ । टावर बनेपछि मनोरञ्जन हल, सम्मेलन हल, वित्तीय संस्था, संग्रहालय, पुस्तकालयलगायतका सुविधा हुनेछन् । महानगरले जमीन भाडामा लगाएबापत प्रत्येक वर्ष रु.२ करोड ६५ लाख राजस्व पनि पाउनेछ । तर, बागबजार वरपरका बासिन्दाले आपत्विपत्मा ज्यान जोगाउन निस्किने आफ्नो छिमेकको खुला ठाउँ सधैंका लागि गुमाएका छन् ।

  • मन्त्रिपरिषद्ले २६ चैत २०६९ मा राजपत्रमा सूचना प्रकाशित गरेर ललितपुर पुल्चोकको मदन स्मारक माविको चौरलाई ‘सार्वजनिक खुला क्षेत्र’ भनेको थियो । तर, त्यसको ९ महीनाअघि नै यो स्कूलको ३२ रोपनी जग्गामध्ये १३ रोपनी १ आनामा बिजनेश कम्प्लेक्स बनाउने सम्झौता भइसकेको थियो । विद्यालय व्यवस्थापन समितिले २० असार २०६९ मा १० रोपनी १ आना जग्गा ४० वर्षका लागि भोगचलन गर्ने गरी भ्याली कन्स्ट्रक्सनलाई भाडामा दिइसकेको थियो । यही स्कूलले १० वर्षअघि नै आफ्नो तीन रोपनी जग्गा क्लासिक डेभलपरलाई २५ वर्ष उपभोग गर्न पाउने गरी भाडामा लगाएको थियो । प्रधानाध्यापक गोविन्द पौडेलले भने, “पहिला फूटबल मैदान थियो । अहिले भवन बनाउन सम्झौता गरेका छौं ।”

अहिले स्कूलको चौरलाई जस्ताले बारेर जमीन खन्न ठेकेदार कम्पनी ठिक्क परेर बसेको छ । मदन स्मारक विद्यालयका बालबालिकाले आफ्नो पूरै खेल मैदान गुमाए । अब उनीहरूले बढेमानको कम्प्लेक्सको छायाँमा बसेर लेख्नु, पढ्नु पर्नेछ । पुल्चोक आसपासका युवा र विद्यार्थीले मदन स्मारकको चौरमा अब फूटबल खेल्न पाउने छैनन् ।

स्कूलले १० रोपनी जग्गाबाट वार्षिक रु.४ लाख र तीन रोपनी जग्गाबाट वार्षिक रु.६० हजार आम्दानी गरिरहेको छ । विद्यालयका प्रधानाध्यापक पौडेलका भनाइमा, “निर्माण हुने भवनको नक्शा पास भएपछि १० रोपनी जग्गाबाट वार्षिक रु.४० लाख र तीन रोपनीबाट वार्षिक रु.७ लाख दिने सम्झौता भएको छ ।”

यो सम्झौताले ललितपुर महानगरपालिका वडा नम्बर ३ र २० का स्थानीय बासिन्दाको घर नजिकैको सास फेर्ने खुला ठाउँ, आपत्विपत्मा सहारा लिने चौर गुमेको छ । यहाँका विद्यार्थीले आफ्नो अभिन्न खेल मैदान गुमाएका छन् । विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राजकाजी महर्जनले कम्प्लेक्स बनाउन विद्यालयको जग्गा भाडामा दिने निर्णय गरेका थिए ।

  • महेन्द्र आदर्श विद्याश्रम मावि, सातदोबाटोको १२ रोपनी जग्गामा बनेको भवनमा अहिले सेल्स बेरी डिपार्टमेन्ट स्टोर बसेको छ । गुठीको यो जग्गा मासिक रु.६ लाख भाडा लिने गरी ज्यापू कम्पनीलाई भाडामा दिएको छ । उपत्यका विकास प्राधिकरणले यो जग्गालाई पनि खुला क्षेत्रको सूचीमा राखेको थियो । विद्यालय सञ्चालन र पूर्वाधार निर्माण गर्न ३० वर्षका लागि जग्गा भाडामा दिइएको प्रिन्सिपल कृष्णदत्त जोशीले बताए । शैक्षिक गुठीबाट सञ्चालन भएपछि सरकारबाट अनुदान प्राप्त नहुने भएकाले शिक्षकलाई तलब खुवाउन पनि जग्गा भाडामा लगाउनु परेको जोशीको भनाइ छ । विद्यालयका मुख्य गुठियार ललितपुर क्षेत्र नम्बर ३ की सभासद् पम्फा भुसाल हुन् ।

काठमाडौंको पुरानो बसपार्क, खुलामञ्च, ललितपुरको मदन स्मारक र महेन्द्र आदर्श विद्या आश्रमको खाली क्षेत्रमा बनेका संरचना केही नमूना मात्रै हुन् । राजधानीका सयौं खुला स्थानमा यस्ता संरचना बनिसकेका छन्, थुप्रै ठाउँमा अहिले पनि संरचना निर्माण गर्ने क्रम जारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार