नेपालमा मौलाउदैं ट्याटु संस्कृति

काठमाडौं ठमेलमा बस्दै आएका आयुशको दुवै पाखुरामा ट्याटु छन् । प्रेम दर्शाउन उनले छातीमा आमाको ‘स्केच’समेत खोपाएका छन् । ‘बाआमाका लागि केही दिन सकिएन । उहाँहरूको ट्याटु खोपेर भए पनि सधैँ सँगै राख्न चाहन्छु’ ट्याटु देखाउँदै उनले भने ।
‘अब उनी आफ्नो जीवनसँग मेल खाने कुनै नयाँ ट्याटु खोप्ने योजनामा छन् । परबाट हेर्दा उनको हातमा भएको ट्याटुको आकार केको हो प्रस्ट बुझ्न सकिँदैन । तर उनले हालसम्म ट्याटु को लागि ५० हजार खर्चिसकेका छन् ।

हातमा ट्याटु खोपेका न्युरोडका निश्चल पनि अर्को ट्याटु खोप्ने योजना बनाइरहेका छन् । ट्याटु खोप्नकै लागी १८ हजार खर्च गरेका निश्चल ट्याटुमा आफ्नो सोख भएपनि छाला बढी सेन्सेटिभ हुदाँ मनलागे जति खोप्न नपाएको बताए । सेन्सेटिभ छालाका कारण पहिलो पटक खोप्दा केही दिन चिलाउने समस्या देखा परेको उनको अनुभव छ ।

सेन्सेटिभ छालाका कारण ट्याटुमा सोख भएपनि समस्या भोगको अनुभव छ काठमाडौं स्वयम्भकी प्रमिला श्रेष्ठलाई पनि । पहिलो पटक हातमा उड्दै गरेको चराको ट्याटु खोपेकी श्रेष्ठले दुई वर्षपछि घाँटीमा पुतलीको ट्याटु खोपिन् । तर रगत आउने र असह्य पीडा सहनुपर्ने भएकाले त्यसपछि अर्को नबनाउने कसम खाएको श्रेष्ठ सुनाउछिन ।
कापीका पानामा चित्र उतारेझैं शहरी क्षेत्रमा शरीरका अंग–अंगमा ट्याटु कोर्ने यी त प्रतिनिधि युवा मात्र हुन् । जसले नेपाली समाज ट्याटु सस्कृतितर्फ खुल्दै आर्कषित हुन थालेको संकेत गर्दछ ।

कसरी शुरु भयो ट्याटु संस्कृति

विश्वमा ट्याटुको प्रयोग कसले र कहिलेदेखि किन गर्यो भन्ने यकिन प्रमाण पाउन मुस्किल छ । तर पनि केही समययता ट्याटु खोप्नुलाई फेसनकै रूपमा स्वीकारिएको छ । न्यूजिल्याण्डका मौरे जातीमा बिशेष प्रख्यात ट्याटु यो जातीमा जसले शरिर भर्न सक्छ ऊ नै परमेश्वरको भक्त भन्ने मान्यता छ । यहि कारण मोटो र ठुलो शारिरिक बनावट हुने यो जातीका मानिसले आफ्नो शरिरको सबैभागमा ट्याटु खोपेका हुन्छन । अमेरिका अष्टे«लिया तथा युरोपका शहरमा प्रख्यात ट्याटु संस्कृति अहिले नेपालमा पनि पनि लोकप्रिय छ । नेपालमा ट्याटुको परम्परा कहिलेदेखी शुरु भयो वा कसरी भित्रियो भन्ने यकिन तथ्यांङक छैन । तर नेपाल घुम्न आउने पर्यटकले नेपालमा ट्याटु संस्कृति भित्राएको जानाकारहरु बताउछन । झण्डै ३० को दशकतिर नेपाल भित्रिएको ट्याटु संस्कृति नेपालमा विशेषगरी सहरिया युवामाझ जरो गाडेर बसेको छ । पछिल्लो समय त ट्याटु खोप्नेहरू बढेसँगै अप्रिल महिनामा काठमाडौंमा ट्याटु महोत्सव नै हुने गरेको छ ।

कस्ता मानिसले खोप्छन ट्याटु ?

नेपालमा ट्याटुप्रति १८ देखि ४० वर्ष उमेर समूहका मानिस बढि आर्कषित हुने गरेका छन । बिशेष गरि खेल, कला वा यस्तै बिशेष सिर्जनात्मक बिषयमा चाख राख्ने युवायुवतीको लहर अहिले ट्याटुप्रति देखिएको छ । ठमेलमा ६ वर्षदेखि ट्याटु खोपाउँदै आएका संजय खड्कीका अनुसार विदेश बसेर फर्केका वा आफुलाई यूनिक देखाउन खोज्नेहरुको आर्कषण ट्याटुप्रति बढि भएको बताउँछन् ।
ठमेलमा उनको स्वास्तिक नामको ट्याटु सेन्टर छ । जहाँ उनी दैनिक दर्जन बढि ट्याटु पारखीहरूलाई सेवा दिदै आएका छन । उनिहरुमध्ये महिला र पुरुषको सङ्ख्या आधा आधा रहेको खड्गीको अनुभव छ । ट्याटुमार्फत रहर खोपाइरहेका अधिकांश युवायुवतीहरुको पहिलो ट्याटु आफ्ना प्रेमि वा प्रेमिकाको नाम हुने गरेको उनको अनुभव छ ।

ट्याटुका लागी कति समय र पैसा लाग्छ ?

सामान्य नाम मात्रै लेख्नेजस्ता साना ट्याटुहरू बनाउन आधाघण्टाको सयम लाग्ने र यसको १ हजारदेखी १ हजार दुईसय शुल्क लिनेहरु ट्याटु व्यवासायी बताउछन । तर यो शुल्क भने सबैतिर एउटै छैन । स्वास्तिका ट्याटुका सञ्चालक संजय खडगी आफुले प्रतिघण्टा दुई हजार पाँच सय शुल्क लिने गरेको बताउछन ।
पहिले पहिले धेरै ट्याटु पारखीहरु नाम मात्रै खोपाउन आउने गरेको भएपनि अहिले उनिहरुको रुचि फेरिएको छ । आफ्नो परिवारको फोटो, मनपरेको वस्तु, भगवान, खेलाडी, गायक गायिकाहरुका तस्विर ट्याटुका रुपमा खोपाउँने पनि उत्तिकै छन । भगवानमा आस्था राख्ने हुन् वा खेलाडीको खेल मन परेपछि उनीहरुप्रति सम्मान व्यक्त गर्न यसरी ट्याटु खोपाउनेहरु प्रशस्तै देखिन थालेका छन् ।

सेलिब्रेटीका गुप्ताङ्गमा समेत ट्याटु 

ट्याटुको नशा सेलिब्रेटीहरुलाई पछ्याउनेहरुलाई भन्दा सेलिब्रेटीमैं बढी देखिन्छ । नायिका करिश्मा मानन्धर केही वर्ष पहिले देखि नै स्तनमा खोपाएको ट्याटुको कारण चर्चित छिन् । पछिल्लो समय राजनीतिमा समेत सक्रिय मानन्धरले पोशाकमा बढि ध्यान दिएपनि केही समय पहिलेसमम सार्वजनिक कार्यक्रममा जाँदा उनी स्तनको ट्याटु देखिने पहिरन लगाउथिन् । नायिका साम्राज्ञी राणा स्तनको तल्लो भागमा खोपिएको ट्याटु सार्वजनिक भएपछि चर्चामा आइन् । शुष्मा कार्की, शुभेच्छा थापाले पनि स्तनमा ट्याटु खोपाएका छन् । जिया केसीदेखि प्रियंका कार्कीसहितका अभिनेत्रीले शरिरका विभिन्न भागमा ट्याटु खोपाएका छन् । यो त धेरैले देखेको कुरा तर नेपालका चर्चित सेलिब्रेटीहरु मध्ये केहीले आफ्ने गुप्ताङ्गको वरिपरि समेत ट्याटु खोप्ने गरको चर्चा बेला बेला हुने गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार