नेपाली काँग्रेसको वडा अधिवेशनमा फेरि कुटाकुट, ५ जना घाइते

दैनिक झडप,कुटपिट र हवाई फायर हुँदा स्थानीय आतङ्कित 

नेपाली काँग्रेसको जारी वडा अधिवेशनमा दैनिक जसो झडप र कुटपिटका घटना भईरहेका छन् । आइतबार मात्रै गोली चलेको सर्लाही जिल्लामा आज सोमबार फेरि झडप भएको छ । सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ८ को बडाल अधिवेशनमा भएको कुटपिटबाट ५ जना घाइते भएका छन् । स्थानीयका अनुसार हिजो भएको गोली काण्डबाटै सुरु भएको विवादले उग्र रुप लिएपछि मतदान अधिकृत सहित ५ जना घाइते हुनेगरि कुटपिट भएको हो ।

प्रहरीका अनुसार सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि प्रहरीसँग झडप भएको थियो । सो झडपको क्रममा ५ जना घाइते भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए । वडा अधिवेशनकै क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि प्रहरी बचाउनका लागि प्रयास गर्ने क्रममा प्रहरीसँग झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।

झडपमा परेर झा सहित ३ जना प्रहरी र एक जना सर्वसाधारण घाइते भएको उनले बताए । निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको छ भने एक जना प्रहरी निरीक्षकको हात भाँचिएको उनले बताए । सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह पक्षधरले मतदान अधिकृतमाथि हातपात गर्नै लाग्दा प्रहरीले उनको सुरक्षाका लागि मलंगवा लैजाने क्रममा प्रहरीसँग झडप भएको काँग्रेस सर्लाहीका सभापति नागेन्द्र रायले बताए । यस अघि सोही क्षेत्रमा आइतबार साँझ वडा अधिवेशनकै क्रममा प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले हवाई फायर गरेका थिए ।
यस्तै अघिल्लो हप्ता प्युठानमा पनि वडा अधिवेशनका क्रममा झडप हुँदा दर्जन बढि घाइते भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार