विद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा र कुम्भ मेला नै पर्याप्त छ: माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेले चितवनमा कुम्भ मेला प्रदर्शन गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय जन सांस्कृतिक महासङ्घ नेपालले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले फरक मत राख्ने व्यक्तिहरूमाथि चितवनमा भएको अत्याचारले नेकपा एमाले आफ्नो चरित्र प्रदर्शन गरेको आरोप लगाएका हुन् ।

उनले नेकपा एमाले दक्षिण पन्थी भासमा भासिएको बताउँदै नेकपा एमाले कम्युनिष्ट पार्टी हुन नसक्ने तर्क गरेका छन् । नेकपा एमालेले चितवनमा तमासा गरेको नेपालले बताएका छन् ।

अध्यक्ष नेपालले लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरूबिच गठबन्धन भएको बताउँदै आफूहरूको यात्रा समानता र एकताको यात्रा भएको जिकिर गरे । समाजबाट भेदभाव हटाउन सङ्घर्ष गर्नुपर्ने, समाजमा रहेको छुवाछुत लगायतका कुसंस्कारलाई हटाउन पहल गर्नुपर्ने अध्यक्ष नेपालको भनाई छ ।

अध्यक्ष नेपालले समाजमा भएका अन्याय अत्याचारका विरुद्ध लड्न आफ्नो पार्टी स्थापना भएको बताउँदै राजनीतिक क्षेत्रमा परिवर्तन भएपनि अन्य क्षेत्रमा परिवर्तन बाँकी रहेकाले देशको आमूल परिवर्तनमा सांस्कृतिककर्मीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार