पेय पदार्थका नाममा फोहोरको लेदो बेचिँदै, यस्तो सम्म भेटियो (भिडियो सहित)

यतिबेला गर्मीयाम शुरु भएको छ । गर्मीयामको शुरुवातसँगै बजारमा पाईने चिसो पेय पदार्थहरुको माग ह्वात्तै बढेको छ । तर बजारमा धेरै उपभोक्ताको रोजाईमा पर्ने यस्ता पेय पदार्थको गुणस्तरीयताका विषयमा उत्पादक तथा वितरकले ध्यान नदिँदा यसले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने देखिएको छ । बहुराष्ट्रिय कम्पनीले नेपालमा बिक्री गर्ने कोकाकोला, फ्याण्टा, पेप्सी, रियल जुस लगायतका अधिकांश पेय पदार्थहरुमा यस्तो समस्या देखिएको हो ।

गएको शुक्रबार पोखराको मालेपाटनस्थित स्वस्तिका खाजा घर नजिकै स्थानीय पसलबाट किनेको पेप्सीमा कुच्चिएको बिर्को देखियो । नखोलेको पेप्सीको बोत्तलभित्र कुच्चिएको बिर्कोे देखिएपछि पेप्सी पिउन थालेका ग्राहकले पसलेलाई गाली गरे । फोहोर पेय पदार्थ बेचेको भन्दै आक्रोशित ग्राहकहरुको आक्रोश नियन्त्रण गर्न पसलेले ती ग्राहकलाई अर्को बोतलको पेप्सी सोही पैसामा दिए । तर ग्राहकले मानेनन् उनले स्थानीय प्रशासनमा उजुरी गरे । फोहोर पेय पदार्थ बेचेर मान्छेको जीवनमाथि खेलवाड भएको भन्दै स्थानीय प्रशासनमा उजुरी प¥यो तर उनको उजुरीमाथि कु्नै सुनुवाई भएन । बरु कम्पनीले फोहोर पेप्सी भेटाउने पसलेलाई त्यसको साटो केही पेप्सीको क्यारेट दियो र केही पैसा स्थानीय प्रशासनमा समेत बुझाएपछि घटना थामथुुम भयो ।

यसै गरी लमजुङ सदरमुकाम बेसी शहरको एउटा होटलमा बेच्न राखिएको रियल फ्रुट पावर नामको म्याङ्गो जुसमा अखाद्य वस्तु भेटिएको थियो । होटलमा एक उपभोक्ताले सेवन गर्न लागेको जुसमा लेदो जम्नुका साथै कालो लेउजस्तो अखाद्य वस्तु भेटिएको हो । बेसीशहर नगरपालिका १०, नारायस्थान मन्दिर नजिकै रहेको लाङ्घाली होटल एण्ड कफिसप रेष्टुरेन्टमा बेच्न राखिएको रियल फ्रुट पावर नामक जुसमा अखाद्य वस्तु भेटिएको हो । डावर नेपाल प्रा.लि. रामपुर टोकली बाराबाट उत्पादित २ सय मिलिलिटरको जुसमा अखाद्य वस्तु भेटिएपछि लाङ्घाली होटलका संचालकले संचारकर्मीलाई खबर गरेका थिए। जुसलाई आफ्नै होटलमा उपभोक्ताले खरिद गरी सेवन गर्दा नमिठो भएको र सुइरोलाई झिकेर हेर्दा सुइरोमै अखाद्यवस्तु टाँसेर आएको होटलका संचालक दीपक रानाले बताउनुभयो ।

जुसमा सुईरो राख्ने ठाउँमै लपक्कै देखिने गरी कालो लेउजस्तो वस्तु टाँसेर फागुनको पहिलो साता पर्वत महोत्सवको बेला पर्वतका स्थानीय इन्द्रमान खत्रीले किनेको रियलमा फोहोरको लेदो भेटियो । आफूले पिउन किनेको रियल बोतलबाट सजिलै नखसेपछि उनले चक्कुको साहाराले बोतल खोल्दा रियलको प्याकभित्रै कुहिएको दुर्गन्ध सहितको लेदो भेट्टाए । खत्रीले रियल जुसको नाममा फोहोरको लेदो भेटेपछि स्थानीय पसलेलाई हप्काए । खुलेआम मानव स्वास्थ्यमाथि खेलवाड गर्ने रियलबारे स्थानीय पत्रकारहरुलाई जानकारी गराएर र प्रशासनलाई उजुरी समेत गरे । तर पिउन बेचिएको रियल जुसबारेको उजुरी समेत सम्बन्धित कम्पनी र स्थानीय प्रशासनको लेनदेनमा टुंगियो ।

त्यसैगरी गत शुक्रबार नुवाकोट सदरमुकाम विदुरमा जिल्ला प्रशासन कार्यालय अघि रहेको नुवाकोट रेष्टुरेण्टमा बिक्रीका लागि राखिएको कोकाकोलामा लेदो भेटियो । साँझको समयमा ग्राहकका लागि दिएको कोकाकोलाको बोतलमा लेदो सहित सिक्का आकारका २ वटा धातुका टुक्रा भेटिए । २ सय पचास मिलिलिटरको सो बोत्तलभित्र देखिएको लेदो र धातुका टुक्राका कारण रेष्टुरेण्ट सञ्चालक राजन थापाले ग्राहकको हप्काई समेत खेप्नुप¥यो ।

दुई दिनअघि वितरक गोसाईकुण्ड ट्रेडर्सले पसलमा छाडेको कोकमा लेदो भेटिएपछि थापाले उक्त ट्रेडर्सका सञ्चालक राजकुमार डंगोललाई खबर गरे । उनले कम्पनीमा जानकारी गराएपछि डंगोलले १० क्यारेट नयाँ कोक फ्रि मा पाए ,रेष्टुरेण्ट संचालकलाई केही पैसा दिएर घटनालाई थामथुम पार्न खोजियो । तर फोहोरको लेदो भएको कोकको हल्ला बजारमा फैलिएपछि विदुरका स्थानीयले भने मानवस्वास्थ्य माथि खेलवाड गदैै फोहोरको लेदो बिक्री गर्नेलाई कारवाही गर्ने र कोकको वितरण जिल्लाभरि बन्द गर्न जिल्ला प्रशासन कार्यालय माग गरेका थिए । तर प्रशासनले भने फोहोरको लेदो बेच्ने कोकाकोला विरुद्ध निरिहता प्रकट गर्ने बाहेक केही गर्न सकेन ।
अघिल्लो महिना राजधानीको बालाजुमा एक रेष्टुरेण्ट संचालकले ग्राहकलाई दिएको कोकको बोतलभित्र किरा मरेको जस्तै देखियो । झट्ट हेर्दा मरेको किरा हो वा लेऊ छुट्टाउन गाह्रो भएपनि सिलप्याक बोतलबाहिरबाटै कोकभित्र भएको बस्तु स्पष्ट देखिन्थ्यो । नखोलेको बोतलभित्र भएको फोहोरका कारण रेष्टुरेण्टमा हल्लाखल्ला भयो । ग्राहकले आक्रोशित हुँदै संचालकसँग हप्कीधप्की गर्न थालेपछि स्थानीयको रोहोवरमा सिलप्याक कोक खोल्दा बोतलभित्र यस्तो दुर्गन्ध थियो कि वरिपरिसमेत केही बेर नाक थुन्नुपर्ने अवस्था आयो । फोहोरको लेदोले भरिएको कोकको बोतलबारे स्थानीय प्रशासनमा दिएको उजुरीको बिषयसमेत अहिले कहाँ पुगेको छ पत्तो छैन ।

घटना यी मात्रै होइन नेपालमा वियर रेडबुल लगायतका पेय पदार्थ बेच्दै आएको गोर्खा बु्रअरीले बिक्री गदै आएको रेडबुलभित्र काठमाण्डौमै केही हप्ता पहिले कुहिएको बदामको दाना जस्तै कालो पदार्थ भेटियो । बजारमा निकै प्रचार भएको एप्पल साइडर सोमरस्वी भित्र शिशाको टुक्रा भेटियो । टुबोर्ग वियरमा भएको विषाक्त पर्दाथका कारण बसुन्धाराको एक रेष्टुरेण्टमा केही ग्राहकहरु सिकिस्त बिरामी परे एभिन्युज टिभीले यस बिषयमा प्रसारण गरेको समाचार भाईरल बन्यो तर यस्तो विषाक्त पेय पर्दाथ बेच्ने कम्पनीमाथि कुनै कारवाही भएन ।

यी त प्रतिनिधि घटनामात्रै हुन नेपालमा बिक्री हुने बहुराष्ट्रिय कम्पनीका उत्पादनहरुमध्ये कोकोकोला, रियल पेप्सी जस्ता उत्पादनमा दैनिक २ भन्दा बढी गम्भीर त्रुटी फेला पर्ने गरेका छन् । कहिले उत्पादन मिति र व्याच नम्बर उल्लेख नहुने त कहिले पेय पदार्थका रुपमा बिक्री हुँदै आएको यस्ता उत्पादनको बोत्तलभित्र फोहोरको लेदो भेटिने गरेका छन् ।

तर यसको नियामक निकाय खाद्य तथा गुण नियन्त्रण कार्यालय भने मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै बजारमा बिक्री भइरहेका यस्ता उत्पादनहरुको खुलेआम लापरवाही प्रति निरिहता प्रस्तुत गरिरहे झैँ देखिन्छ । बरु दैनिकजसो मानव स्वास्थ्यमाथि गम्भिर लापरवाही भइरहेका यस्ता उत्पादनहरुलाई नियन्त्रण गर्नुको साटो मोटो रकम लिएर उम्काउन उद्धत रहेको उपभोक्ताको आरोप छ । तर खाद्य तथा गुण नियन्त्रण कार्यालयले भने यो आरोपको खण्डन गरेको छ । नेपालमा खाद्य तथा तथा गुण नियन्त्रणका सबालमा बनेको कानुनका कमजोरीको फाइदा उठाएर मानव स्वास्थ्यमा गम्भीर असर पार्ने बस्तुको बिक्री गर्ने गरेको खाद्य तथा गुण नियन्त्रण कार्यालयका अधिकारीहरु बताउँछन् ।

नेपालमा दैनिक जसो उपभोक्ताले आफू ठगिएको वा मानव स्वास्थ्यमा असर पर्ने वस्तुको बिक्री भएको भन्दै दिने गरेको उजुरीमा आफूहरुले अनुसन्धान गरी कारवाहीका लागि सिफारिस गरेपनि १० देखि १५ हजार जरिवाना तिरेपछि निर्बाध व्यापार गर्न पाउने कानुनका कारण यस्तो लापरवाही बढेको उनीहरुको ठहर छ । तर दैनिकजसो झण्डै दर्जन बढी उपभोक्ताले कोक, पेप्सी रियल लगायतका वस्तुमा फोहोरको लेदो भेट्दा समेत बिक्रेता कम्पनी भने यसलाई सहजै स्वीकार्न तयार छैन । आफूले बिक्री गदै आएका उत्पादनको गुणस्तरीयता कायम गर्ने सवालमा कुनैपनि कसर बाँकी नराखेको भएपनि खुद्रा ग्राहकहरुका साना असाबधानीका कारण यस्तो समस्या परेको उनीहरुको दाबी छ । रियलमा भेटिएको लेदोबारे रियल जुसको उत्पादक तथा वितरक डाबर नेपालका प्रतिनिधि अभय गोर्खालीले रियलमा कहिलेकाही खुद्रा बिक्रेताको भण्डारण तथा उपभोग मितिको ख्याल नगरी ग्राहकलाई दिँदा यस्तो समस्या आउने गरेको बताउनुभयो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार