डरलाग्दो गर्भपतन : कलेज पोसाकमै अस्पतालमा किशोरी

नेपालमा गएका केही महिनामा गर्भपतनको डरलाग्दो तथ्याङ्क बाहिरिएको छ । यसमा पनि स्वास्थ्यका दृष्टिले गम्भीर मानिने २० वर्षभन्दा कम उमेरका किशोरीहरुले तीन महिना गरेको गर्भपतनको तथ्याङ्क कहाली लाग्दो छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डौमा उपलब्ध तथ्याङले नेपाली समाज कता जादैंछ भन्ने प्रश्न उब्जाईदिएको छ । यसरी डरलाग्दो रूपमा बढेको गर्भपतनमा प्लस टु र कलेज पढ्ने छात्राहरूको सङ्ख्या त झन् भयावह देखिन्छ । नेपालमा १६ वर्ष अघि गर्भपतनले कानुनी मान्यता पाएपछि जोखिमपूर्ण भूर्णहत्या र बाध्यकारी जन्मका कारण समस्यामा पर्नेुपर्ने अवस्था त टरेको छ । तर उकालो गतिमा बढेको तथ्याङले यसलाई कानुनी मान्यता दिएर झन् गलत गरेको चर्चा समेत हुन थालेको छ ।
आधुनिकतासँगै प्रेमसम्बन्धबिना बाँच्नै नसक्ने संस्कृति, व्यस्त दैनिकीका कारण अविभावकको कम चासो, किशोरकिशोरीमा यौन उन्माद्लाई नै प्रेम ठान्ने गलत बुझाइले यस्तो अवस्था सिर्जना भएको जानाकारहरुको धारणा छ । यसबाहेक यौन, र गर्भपतनका विषय अनुशासनभन्दा मनोरञ्जनको रूपमा बुझ्ने प्रवृत्तिले नेपालमा गर्भपतन गर्नेको सङ्ख्या उकालो चढेको हो ।
२०५८ सालसम्म नेपालमा गर्भपतनलाई अपराध मानिन्थ्यो । यसमा संलग्नलाई कडा कारबाही गर्ने कानुनी व्यवस्था थियो । तर बलात्कार जस्तो घटनाले समाजमा धेरै समस्या ल्याएपछि गर्भपतनलाई मान्यता दिनुपर्ने आवाज उठ्यो । महिला अधिकारकर्मीहरुले गर्भपतनले कानुनी मान्यता नपाउँदा धेरै महिलाहरू समस्यामा परेको भन्दै यसलाई कानुनी मान्यता दिनुपर्ने आवाज उठाए । तर कानुनी मान्यता पाएपछि भने गर्भपतनको दर , दिन दोगुना रात चौगुनाले बढेर जानुले अर्को समस्या पैदा गरेको आवाजसमेत उठ्न थालिसकेको छ ।

यो तथ्याङ्क ३ वर्षअघि गएको महाभूकम्पपछि त झनै अस्वभाविक उकालो चढ्यो । यसको कारण पहिलो त भूकम्प जाँदा गर्भवती भएको ३ महिना पुरा भएका महिलाहरूबाट जन्मने बच्चाको स्वास्थ्य संवेदनशिलता थियो भने । दोस्रो भूकम्पले घरबारबिहिन भएर सामूहिक बसाइमा हुँदा अवैध सम्बन्ध कायम भएको र यसलाई छिपाउन गर्भपतन गर्ने महिलाको सङख्या अत्यधिक देखिएको थियोे । तर त्यसपछिका वर्षमा यो डरलाग्दो तथ्याङ्क ओरालो लाग्ने अपेक्षा भए पनि झनै उकालो लाग्नुले भयांवह सङ्केत गरेको बताउनुहुन्छ जनस्वास्थ्य कार्यालय काठमाण्डौका सूचना अधिकारी पुष्कर बिजुक्च्छे । यसमा पनि २० वर्षमुनिका अविवाहित किशोरीहरुको सङख्या हरेक वर्ष झन् बढेर जानु चिन्ताको विषयमा भएको बिजुक्च्छे बताउनुहुन्छ । तथ्याङकअनुसार गएका ३ महिनाको रेकर्डलाई हेर्दा गर्भपतनका लागी आउने अविवाहित किशोरीहरुको सङख्या हरेक महिना २५ देखी ३० प्रतिशतले बढेको देखिन्छ । जुन वैध गर्भपतन सेवा उपलब्ध भएका स्वास्थ्य संस्थाहरूको तथ्याङक हो । यसबाहेक अन्य अवैध गर्भपतन गराउने महिला तथा किशोरीको सङख्या यसमा समावेश छैन ।

यसरी गर्भपतन गराउन पुग्नेहरु २० वर्ष मुनिका किशोरीहरु भएको रेकर्डमा स्पष्ट उल्लेख भए पनि, उनीहरू विवाहित हुन वा अविवाहित उल्लेख नहुनुले अवस्थाबारे यसको यकिन विवरण नहुने जनस्वास्थ्य कार्यालयको अनुभव छ । तर यसरी गर्भपतनका लागी आउने कतिपय किशोरीहरु स्कुल वा कलेजकै पोसाकमा समेत आउने गरेकाले प्लस टु पढ्ने किशोरीको सङ्ख्या उच्च भएको अनुमान छ । प्लस टु पढ्ने बाहेक अविवाहित र विवाहित महिलाहरूको सङ्ख्या पनि वर्षका आधारमा हेर्दा २०७३ ७४ भन्दा २०७४ ०७५ मा कम देखिएपनि महिनाका आधारमा अघिल्ला ३ महिनाको तुलनामा पछिल्ला ३ महिनामा निक्कै बढेको देखिन्छ ।

चिकित्सकहरूका अनुसार नेपालमा गर्भपतन गराउन औषधि खुवाएर वा अपरेशन मार्फत गर्ने गरिएको छ । जसमध्ये ९ हप्तासम्मको औषधीले काम गर्ने भए पनि त्यसपछि अपरेशनमार्फत गर्भपतन गर्नुपर्ने हुन्छ । नेपालको कानुनले अहिले १२ हप्तासम्मको गर्भपतन गराउन छुट दिएको छ । यस बाहेक विशेष अवस्थामा चिकित्सकको सल्लाह अनुसार १८ हप्तासम्मको गर्भलाई पनि पतन गराउन पाइने कानुनी मान्यता छ । हाडनाता करणी तथा आमाको स्वास्थ्यमा गम्भीर असर पर्ने भएमा अन्य जुनसुकै अवस्थामा पनि गर्भपतन गराउन सकिने कानुन छ ।
यसबाहेक जोखिमपूर्ण अवस्थामा ९ हप्तासम्म पनि गर्भ रहेको थाहा नभएमा वा कुनै कारणवश ९ हप्तापछि पनि बच्चा जन्माउन नचाहेमा अप्रेसन गरेर गर्भपतन गराउन सकिन्छ । तर तथ्याङ्लाई हेर्ने हो भने ९ हप्ता पछि गर्भपतनका घटना तुलनात्मक रूपमा बढी छन् । जुन तथ्याङ्क कानुनी मान्यता प्राप्त सरकारी स्वास्थ्य संस्थाको हो ।
त्यो बाहेक गर्भपतनको अनुमति नभएका स्वास्थ्य संस्थामा गर्भपतन गराउनेको सङ्ख्या समेत बढ्दै गएको छ ।

प्रजनन तथा स्त्रीरोग विशेषज्ञ डा.बिमला मल्ल भन्छन् । अनिच्छामा रहेको गर्भपतन गराउनु नराम्रो होइन तर पछिल्ला दिन प्लस टु लेभलमा पढ्दै गरेका किशोरीको सङख्या अस्वाभाविक बढ्नु गलत भएको मल्लको भनाई छ ।
बाध्यात्मक अवस्थामा गर्नै पर्ने भए पनि महिला स्वास्थ्यका दृष्टिकोणले गर्भपतन राम्रो होइन जसले महिला स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । यति हुँदाहँुदै पनि विवाहितले भन्दा अविवाहितले बढी गर्भपतन गराइरहेको देखिएको छ । महिला पुरुष तथा किशोर किशोरीहरुले यौन सम्पर्कका बेला अस्थायी साधन प्रयोग गर्ने बारेमा त्यति ध्यान नदिएका कारण पनि गर्भपतनको सङ्ख्या बढिरहेको चिकित्सकहरूको भनाई छ । यसको लागी घरपरिवार स्कुल तथा कलेज र अस्पतालहरूले समेत गर्भपतनले स्वास्थ्यमा पर्नसक्ने गम्भीर असरका बारेमा स्कुलिङ भए यसमा कमी आउने डा. मल्ल बताउनुहुन्छ ।
महिलाले पटक–पटक गर्भपतन गराउँदा महिलाहरूमा गम्भीर असर पर्ने बताउनुहुन्छ वरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा.भोला रिजाल । गर्भ बसेको थाहा भए लगत्तै एक÷दुई महिनामै गर्भ पतन गराएमा कम जोखिम भए पनि आठ हप्तापछि गरिने गर्भपतनले महिलालाई गम्भीर असर गर्ने रिजालको भनाई छ ।
नौ हप्तापछि औजार प्रयोग गरेर गर्भपतन गराउनुपर्ने भएकाले महिलाको पाठेघरमा घाउ हुने, भ्रुणका टुक्रा बाँकी बसे त्यसले इन्फेक्सन निम्त्याउने आदि समस्या हुन सक्छन् । गर्भपतनपछि नियमित रजस्वाला नहुने र गर्भपतन लगत्तै तीनमहिने सुई लगाउने वा अन्य औषधि खानुपर्ने हुन्छ । यसले महिलाको डिम्ब निष्कासनलाई पूर्णता रोकिदिने सम्म हुने भएकाले बाँझोपनाको समस्या देखिनसक्ने भएकाले गर्भपतनलाई सामान्य रूपमा नलिन सुझाव दिनुहुन्छ डा. भोला रिजाल ।

महिला स्वास्थ्यको दृष्टिकोणले गर्भपतन राम्रो हुँदै होइन । यद्यपि सामाजिक, आर्थिक र मनोवैज्ञानिक कारणबाट यो खराब नै छ भन्नेचाहिँ होइन । तर, जुन रूपमा जसरी काठमाडौँमा गर्भपतनको सङ्ख्या बढिरहेको छ, त्यसलेसोच्नैपर्ने बनाएको छ । अझ २० वर्ष मुनिका अविवाहित किशोरीहरुले बढी गर्भपतन गरेको तथ्याङकले नेपालमा अहिलेपनि कतै महिलाहरू जबरजस्ती गर्भाधारण गर्न बाध्य बन्ने गरेको तथ्य छाँयामा परेको त छैन प्रश्न उव्जिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार