पशुपतिशम्शेर जबरा राप्रपा अध्यक्षमा नउठ्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले मंसिर १५ देखि हुने पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी नदिने भएका छन् ।

उनले आफूनिकट नेताहरुसँग आफू अध्यक्ष पदमा नउठ्ने बताएका छन् । जबरा निकट एक नेताका अनुसार उनले सोमबार साँझसम्म आफू अध्यक्षमा नउठ्ने औपचारिक घोषणा गर्नेछन् ।

‘उहाँले आधिकारिक घोषणा गरिसक्नुभएको छैन, तर आफूसँग भेट्न आउनेहरूलाई चुनाव नलड्ने जानकारी गराउनुभएको छ,’ उनले भने । आफू नलड्दा राणाले भावि अध्यक्षमा कसलाई समर्थन गर्नेछन् भन्नेबारे भने स्पष्ट भएको छैन ।

आजै राप्रपामा उम्मेदवारी घोषणा गरेका कमल थापाले पनि आफूसँग राणाले चुनाव नलड्ने बताएको जानकारी दिए ।

मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने राप्रपाको महाधिवेशनका लागि कमल थापा र राजेन्द्र लिङ्देनले औपचारिक कार्यक्रम मार्फत नै उम्मेदवारी घोषण गरिसकेका छन् । अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि आफूले उम्मेदवारी दिने बताइरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार