ओमिक्रोनका कारण लगाइएको यात्रा प्रतिबन्ध तत्काल हटाउन आह्वान

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आइतबार आफ्ना देशमा प्रतिबन्ध लगाउने देशहरुलाई तत्काल बन्द गर्न आह्वान गरेका छन् ।

रामाफोसाले यात्रा प्रतिबन्धको कदमलाई अनुचित भन्दै तत्काल हटाउन आह्वान गरेका हुन् । राष्ट्रपतिले यस प्रतिबन्ध लगाउने कदमको आलोचना गरेका छन् । यस प्रतिबन्धको कारण आफू गहिरो रूपमा निराश भएको पनि उनले बताएका छन् ।

कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण विश्वभरका थुप्रै देशहरुले दक्षिण अफ्रिका र उसका छिमेकीविरुद्ध यात्रा प्रतिबन्ध लगाएका छन् । दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाउनेमा अमेरिका, बेलायत, युरोपेली संघलगायत अन्य देशहरू रहेका छन् । दक्षिण अफ्रिकाको धेरै जनसंख्या रहेको खाउतेङ प्रान्तमा विगत दुई सातामा यो भेरिएन्ट धेरै देखिएको थियो र अहिले अन्य प्रान्तमा पनि देखिएको छ ।

डब्लुएचओले देशहरूले हतारमा यात्रा प्रतिबन्ध लगाएकोबारे सचेत गराउँदै ती देशहरूले निर्णय गर्दा “जोखिम र वैज्ञानिक आधार“ हेर्नुपर्ने बताएको छ । यद्यपि, यो नयाँ भेरिएन्टबारे चिन्ता बढिरहँदा हालैका दिनमा थुप्रै प्रतिबन्धहरू लगाइएका छन् ।आइतबार रामाफोसाले गरेको एक भाषणमा यात्रा प्रतिबन्ध लगाउँदा कुनै वैज्ञानिक आधारमा नलगाइएको र दक्षिण अफ्रिका अनुचित विभेदको पीडित भएको बताए । उनले नयाँ भेरिएन्टको फैलावट रोक्नका लागि प्रतिबन्धहरु प्रभावकारी नहुने तर्क पनि गरेका छन् ।

यात्रामा लगाइने रोकले गर्ने एउटा मात्रै काम भनेको प्रभावित देशको अर्थतन्त्रलाई थप खराब पार्ने मात्र हो र महामारीविरुद्ध प्रतिक्रिया जनाउने क्षमतालाई कमजोर पार्ने मात्रै हो, उनले भनेका छन् । उनले यात्रा प्रतिबन्ध लगाएका देशलाई ‘हाम्रो अर्थतन्त्रमा थप हानी पुग्नुअघि। आफ्नो निर्णय तत्काल उल्ट्याउन’ आह्वान गरेका हुन् ।

ओमिक्रोन भेरिअन्टले निम्त्याएको अहिलेको आपतकालीन अवस्थालाई व्याख्या गर्दै रामाफोसाले खोपको असमानताबारे विश्वलाई जागरुक गराएको र सबैलाई खोप नदिइँदासम्म थप भेरिएन्टहरू टार्न नसकिने बताएका छन् । ओमिक्रोन अहिले बेलायत, जर्मनी, अस्ट्रेलिया, क्यानाडा, इटाली र इजराइललगायत विश्वका थुप्रै देशमा भेटिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार