अनुसन्धानका तल्लो तहका प्रहरीहरुलाई तलव राज्यको तर काम हाकिमको घर भाँडा माझ्ने

 राज्यको तलव खाएर राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरु हाकिमको घरमा कामदारको रुपमा काम गर्दै आएको भेटिएको छ ।

सरकारी जनशक्तिको चरम दुरुपयोग गर्दै विभागका हाकिमहरूले गुप्तचरहरूलाई आफ्नो व्यक्तिगत लाभका लागि घरायसी काममा खटाउने गरेको समाचार नयाँ पत्रिकामा  छ । मासिक लाखौं तलब र दक्षता अभिबृद्धिका लागि धेरै खर्च भएका अनुसन्धानका कर्मचारी नै घरायसी कामदारको रुपमा प्रयोग हुँदा संगठन नै कमजोर बन्न पुगेको चर्चा हुन थालेको छ । कानुनमा विभागका कर्मचारीलाई सूचना संकलन बाहेक अन्य कुनै पनि काममा पठाउने प्रावधान छैन ।

तर गुप्तचरका रुपमा नियुक्त भई तालिम समेत सम्पन्न गरेका उनीहरूलाई अनुसन्धान विभागबाट तलब दिएर हाकिमहरूको घरमा कुकुर नुहाईदिने, बालबच्चाको स्याहार गर्ने तथा किचेन र सरसफाईमा समेत प्रयोग गरिएको भेटिएको हो । उनीहरुले बहालवाला हँुदामात्रै होईन अवकाश पाएको वर्षौंसम्म पनि यसरी घरायसी कामदारकै रुपमा अनुसन्धानका कर्मचारी प्रयोग गरेको भेटिएको छ ।

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखबाट देवीराम शर्माले अवकाश पाएको आठ वर्ष भयो । तर, अहिलेसम्म उनको घरमा रामनाथ चौधरी घरेलु कामदारका रूपमा कार्यरत छन् । सिपाहीदेखि नै शर्माको घरमा बसेका चौधरी प्रहरी सहायक निरिक्षकमा बढुवा भइसकेका छन् । यसबीचमा क्षमता बृद्धिका लागि भन्दै विभिन्न तालिममा समेत सहभागी भए तर उनको जिम्मेवारी भने शर्माकै घरको सरसफाई र रेखदेखको छ ।

हुन त, अनुसन्धानका कर्मचारी घरेलु कामदारको रुपमा बस्ने व्यवस्था राष्ट्रिय अनुसन्धान विभागको विशेष सेवा नियमावलीमा छैन । तर अनुसन्धान विभागमा मात्रै सोर्सफोर्सका आधारमा १ सय भन्दा धेरै कर्मचारी सरकारको तलबमा नेता र हाकिमहरूको घरमा घरायसी काम गर्दै आएका छन् ।

स्रोतका अनुसार विभागका प्रमुख दिलीप रेग्मी र एआइजीहरूले समेत तल्लो तहका कर्मचारीलाई आफ्नो घरमा काम लगाउँदै आएका छन् । अनुसन्धान विभागका पूर्वप्रमुख मोती गुरुङको घरमा विभागका दुईजना कर्मचारी काम गर्दछन् ।  पूर्वप्रमुख हरिबाबु चौधरी, गोविन्द थापा, विष्णुराज पन्त, अशोकदेव भट्टको घरमा पनि एक–एकजना अनुन्धानका कर्मचारी घरेलु कामदारका रूपमा कार्यरत छन् । पूर्व डिआइजी सुखचन्द्र झाको घरमा दुईजना कर्मचारीले सरसफाई र किचेनको काम गर्छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार