राजधानीमा सरकारी मुल्यांकन जग्गा प्रतिआना ५० लाख, कारोवार तीन करोडभन्दा बढीमा

के तपाई राजधानीमा जग्गा किन्ने सोचमा हुनुहुन्छ ? हुनुहन्छ भने तपाईलाई जग्गाको मुल्य कतिसम्म पर्ला भन्ने लाग्छ ।

यसको सामान्य अर्थमा अनुमान नै गर्न सकिदैन् । किन कि यहाँ सरकारी मुल्य एक छ भने अर्कै मुल्यमा कारोबार भईरहेको छ । काठमाडौं उपत्यकामा सरकारी मुल्य भनेको न्यूनतम प्रतिआना ९ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँ छ । तर तपाई यही मुल्यमा जग्गा किन्ने सोचमा हुनुहुन्छ भने, तपाई व्यर्थमै सोच्दै हुनुहुन्छ ।

यहाँ त यो मुल्यको दोब्बरभन्दा बढीमा कारोवार हुन्छ । यो मुल्य सरकारले चालू आर्थिक वर्षदेखि लागू गरेको मूल्यांकन हो । तर, सरकारी मूल्यांकनभन्दा झन्डै दोब्बरले कारोबार हुने भएकाले वास्तविक मूल्यमा धेरै फरक पर्छ । सरकारी मुल्यांकनमा कारोवार हुनेभए सायद काठमाडौंमा अधिकांशको जग्गा हुन्थ्यो होला । तर यहाँ त प्रतिआना ५० लाख रुपैयाँको त के कुरा गर्ने प्रतिआना तीन करोडमा समेत पाईदैन् ।

यो ठाउँमा हो सबैभन्दा बढी मुल्य पर्ने जग्गाः

सरकारी मूल्यांकनअनुसार राजधानीको सबैभन्दा बढी मूल्य डिल्लीबजार मालपोत कार्यालय अन्तर्गतको केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल मूलचोकहुँदै क्षेत्रपाटी चोकसम्म, हनुमानढोका जिल्ला प्रहरी कार्यालय पूर्व, सुरज आर्केड, इन्द्रचोक, असनहुँदै भोटाहिटीचोक, असन, जमल राष्ट्रिय नाचघरदेखि पूर्व विश्वज्योति हल, तीनधारा पाठशाला, महेन्द्र सालिकदेखि काठमाडौं प्लाजासम्म छ ।

यसैगरी माइतीघर, सिंहदरबार पश्चिमगेट पुतलीसडक, कृष्ण पाउरोटी हात्तीसार जय नेपाल, दरबारमार्ग, कमलादी, सुन्धारा, न्युरोड, त्रिपुरेश्वरसम्मको मूलबाटोमा जोडिएको जग्गाको मूल्य प्रतिआना ५० लाख रुपैयाँ छ ।

यस्तै काठमाठौंको मुख्य क्षेत्रहरू बागबजार, पुरानो बसपार्क, पद्मोदयमोडदेखि सभागृह चोकसम्मको मूलबाटोमा जोडिएका जग्गाको मूल्य प्रतिआना ४० लाख रुपैयाँ छ । नयाँ सडकदेखि, महाबौद्ध, ओटु मार्ग, रन्जना हल, फसिके, नयाँ सडक वरपरको जग्गाको मूल्य प्रतिआना ३६ लाख रुपैयाँ, लैनचौर चोकदेखि पानीपोखरी टिचिङहुँदै नारायणगोपाल चोकसम्म मूलबाटोमा जोडिएको दायाँबायाँ प्रतिआना ३२ लाख रुपैयाँ कायम छ ।

त्यस्तै मनोहरा पुल, अरनिको राजमार्ग चक्रपथ, तीनकुने, कोटेश्वर, गौशालाहुँदै चाबहिल, नयाँ बानेश्वर, बिजुली बजार, बालाजु, गोंगबु र धुम्बराहीलगायत स्थानको मूल सडकमा जोडिएको जग्गाको मूल्य प्रतिआना २८ लाख रुपैयाँ छ ।

कम मुल्यमा कहाँ पाईन्छ त जग्गाः
काठमाडौं उपत्यकामा यो ठाउँमा नै कम मुल्यमा जग्गा पाईन्छ भनेर भन्न सकिदैन् । किनकी अधिंकाश क्षेत्रमा जग्गाको भाउँ ह्वात्तै बढेको छ । तर पनि मालपोत कार्यालय डिल्लीबजारले मूल सडक वा पिच रोड, सहायक पिच, कच्ची मोटरबाटो र गोरेटोलगायत सडकको प्रकृतिअनुसार कम मुल्य निर्धारण गरेको छ । ती क्षेत्रभित्र प्रतिआना न्यूनतम ९ लाख रुपैयाँसम्म जग्गा किन्न पाईन्छ ।

सरकारी मूल्यांकनअनुसार राजधानीमा सबैभन्दा बढी न्युरोड र दरबारमार्ग क्षेत्रमा प्रतिआनाको ५० लाख रुपैयाँ कायम गरिएको छ । तर अहिले पनि ती क्षेत्रमा सरकारी मूल्यांकनभन्दा दुई गुणाभन्दा बढी रकममा जग्गाको कारोबार भइरहेको मालपोत कार्यालयका कर्मचारी नै बताउँछन् । यो क्षेत्रमा अहिले प्रतिआना ३ करोड रुपैयाँसम्म जग्गाको कारोबार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार