रौनक हराएको नारायणहिटी, खुलेन श्रीपेचको ताला

Sunrise Bank Middle Size

नारायणहिटी दरबारको चमक छैन आजकल । १ सय ३१ बर्षको दरबारले धेरै जन्मायो । अनि धेरैे सिध्यायो पनि । तर केही बर्ष पहिलेसम्म चमकदार दरबार अहिले हरेक दिन रंग गुमाउँदै छ । बिक्रम सम्बत १९४२ सालमा धोकलसिंह बस्नेतको ७ सय ५४ रोपनी जग्गा नेपालका छैंटौ प्रधानमन्त्री फत्तेजंग शाहले हडपेका थिए । सोही जग्गा केही समयपछि तत्कालीन श्री ३ महाराज रणोद्धिप सिंहको स्वामित्वमा आएको थियो ।

आफनो स्वामित्वमा ल्याएपछि रणोद्धिप सिंहले आफ्ना २ वटै छोरी तत्कालीन राजा पृथ्वी वीरविक्रम शाहलाई दिएर दाईजो स्वरुप अहिलेको नारायणहिटी दरबारमा हनुमानढोकाबाट राजालाई सारेका थिए । सोही बर्ष १९४२ सालको कोतपर्वमा रणोद्धिप सिंह मारिएपनि हनुमानढोकाबाट बसाई सरेका राजाले यो ठाँऊ छाडेनन् । बरु १ सय २२ बर्षपछि देशको राजनीतिक अवस्थामा आएको परिवर्तनले तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी छाड्न बाध्य बनायो ।

राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा गरेको सरकारले तत्कालीन राजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट नागार्जुन दरबारमा सा-यो । राजाको बर्हिगमनपछि तत्कालीन राजदरबारलाई संग्रहालयको रुपमा सरकारले विकास गरेको छ । संग्रहालयको रुपमा आम जनताका लागि खुला गरेकोे १० बर्ष नपुग्दै नारायणहिटी दरबार अहिले खण्डहरको रुपमा परिणत हुने अवस्थामा छ ।

दैनिक हजारौंले संग्रहालयको अवलोकन गरेपनि यसको सही मर्मत सम्भार र व्यवस्थापन हुन नसक्दा दरबारको संरचना जिर्ण बन्दैछ । नारायणहिटीकै इतिहास सबैभन्दा पहिले बनेको रणोद्धिप सिंहको घर भत्केर छानो जगसम्मै लत्रिएको छ भने दरबारभित्रका बाटाहरु झार जंगलका कारण छिचोली साध्य बनेका छन् । चारैतिरको पर्खाल भत्केर वरिपरि हिंड्न समेत मुस्किल छ ।

पूर्व मुमा बडामहारानी बस्ने महेन्द्र मञ्जिलबाट निस्कने द्धार समेत कतिबेला कता ढल्छ र पुरिन्छ भन्ने अवस्थामा छ । नारायणहिटी संग्रहालयको लागि विद्युत वितरण गर्ने ट्रान्समिटर समेत लत्रेका तारसँगै झाडीले ढाकिन थालेकाले जुनसुकै बेला पड्किएर दुर्घटना निम्तिन सक्छ ।

संग्रहालयको रुपमा सर्वसाधारणलाई खुला गरे देखिनै हरेक दिनजसो यसरी जाने सङख्या दैनिक एक हजार भन्दा कमी छैन । २०७२ सालमा गएको महाभुकम्पका बेला बाहेक नारायणहिटी पुग्नेको सङ्ख्या दैनिक बढ्दो छ ।

नारायणहिटी दरबार संग्रहालयमा अहिले सय भन्दा बढी कर्मचारीहरु कार्यरत छन् । सरकारले संग्रहालयबाट वार्षिक २ करोड भन्दा बढी राजस्व उठाउँछ । संग्रहालयको रेखदेख र व्यवस्थापन गर्ने जिम्मा सरकारको भएपनि भूकम्प गएपछि संग्रहालयको पुनर्निर्माण अहिलेसम्म नभएको संग्रहालयका प्रमुख ढुंगानाको भनाई छ ।

२४० वर्ष शासन गरेको राजतन्त्र र राजपरिवार बसेको देशको मुख्य पावर सेण्टर भएकाले नारायणहिटीप्रति धेरैको कौतुहलता हुनु स्वाभाविक थियो । यसबाहेक भौगोलिक रुपमा पनि धेरैको पायक पर्ने स्थान भएकै कारण पनि नारायणहिटी संग्रहालय अवलोकनकर्ताका लागि विशेष आर्कषणमा पर्ने गरेको छ ।

राजदरबार भएकै कारण धेरैको आकर्षणको केन्द्र बनेको संग्रहालयमा राजाकै महत्वपूर्ण सामाग्रीहरु कष्टडी भित्र थुनिंदा अवलोकनकर्ता भने निराश बनेर फर्केने गरेका छन् । दैनिक १ सय तिरेर जाने सर्वसाधारण, ५ सय तिर्ने विदेशी र २० रुपैंया तिरेर जाने विद्याथीहरु मध्ये धेरैको एउटै जिज्ञासा हुन्छ ।

तत्कालीन राजाको श्रीपेच कहाँ छ ? तर यो प्रश्नको भरपर्दो जवाफ भने कसैसँग छैन । यसो त श्रीपेचबारे राजसंस्थाको अन्त्य र गणतन्त्रको घोषणा ताका पनि धेरै बहस चलेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र र सरकार पक्षबीच नारायणहिटीकै मंगलसदनमा भएको छलफलमा यो बिषयमा चर्काचर्की समेत भएको जानकारहरु बताउँछन् ।

नारायणहिटी दरबार सरकारको स्वामित्वमा आउँदा श्रीपेच र महेन्द्र मञ्जिल छाड्न नसक्ने राजा ज्ञानेन्द्रको जिकिरपछि नागार्जुन दरबार दिएर श्रीपेच सरकार मातहत ल्याएको उनीहरुको भनाई छ । यसो त राजाले राजदरबार छाड्नुअघि तत्कालीन राजा र सरकारबीच केही अति गोप्य र गम्भीर सम्झौता मार्फत नै ज्ञानेन्द्रले दरबार छाडेको बताउनेहरु मध्ये पूर्वराजा ज्ञानेन्द्र शाह र तत्कालीन सरकार बीचको सोही सम्झौताले श्रीपेच अहिलेसम्म सार्वजनिक हुन नसकेको अनुमान लगाउनेहरु पनि कमी छैनन् ।

वास्तविकता जे भएपनि राजदरबारलाई संग्रहालयका रुपमा ल्याएको १० बर्षसम्म श्रीपेच सार्वजानिक हुन नसक्नुले तत्कालीन राजा र सरकारबीच केही गम्भीर बुँदामा सम्झौता भएको लख काट्नेहरुलाई अवश्य बल पुगेको छ । संग्रहालय प्रमुख रोहितकुमार ढुंगाना भने यसको सीधै इन्कार गर्नुहुन्छ । श्रीपेच प्रदर्शनीमा राख्न धेरै तयारी पुरा भईसकेपनि अन्य सरकारी अधिकारीहरुको ढिलासुस्तीले प्रदर्शनीमा आउन नसकेको बताउनुहुन्छ ढुंगाना ।

कहाँ छ श्रीपेच ?
दरबार हत्याकाण्ड भएको ठाउँ त्रिभुवन सदनतर्फ जाने ठाउँमा नेपाली सेनाले पछिल्लो प्रवेशद्धारमा पहरा दिईरहेको भेटिन्छ । सक्रिय राजतन्त्रका बेला समेत यसरी पहरा दिनु नपर्ने स्थानमा अहिले सेनाले २४ घण्टे पहरा दिईरहेको छ । सेनाको कडा सुरक्षाका भएकाले नै श्रीपेच त्यहीँ नै रहेको हुन सक्ने संग्रहालयका कर्मचारीको भनाई छ । राजसंस्था रहुञ्जेल महेन्द्र मञ्जिलमा रहेको श्रीपेचलाई गणतन्त्रको घोषणासँगै नारायणहिटी संग्रहालयकै शैलुन कक्षमा बाकसमा राखेको संग्रहालय प्रमुख ढुंगाना बताउनुहुन्छ । जसको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ ।

तर १० बर्षसम्म सर्वसाधारणका लागि श्रीपेच अवलोकन गर्नका लागि खुला नगरिनुको कारण सुरक्षा चुनौति नै रहेको संग्रहालय प्रशासनको जिकिर छ । त्यसो त नारायणहिटी संग्रहालयको उद्घाटनकै बेला १५ फागुन २०६५ मा श्रीपेचबारे धेरैले जिज्ञासा राख्दा प्रर्दशनीकक्ष र सोकेश नभएकाले श्रीपेचलाई प्रदर्शनीमा राख्न नसकिएको बताइएको थियो ।

जनस्तरबाटै श्रीपेच प्रर्दशनीमा आउन नसकेको प्रति गुनासाहरु आउन थालेपछि २०६६ सालमै संस्कृति मन्त्रालयले प्रदर्शनीमा राख्ने तयारी मन्त्रालय स्तरबाटै भएको थियो । तर अहिलेसम्म श्रीपेचको बाकस समेत सर्वसाधारणको अवलोकनको पहुँचमा छैन । धेरैको नजर र चासो श्रीपेचमा मात्रै भएपनि राजदण्ड, मेस, रानीको यायारा, झिंगा धपाउने चमारसमेत प्रदर्शनीमा छैनन् । जुन श्रीपेच राखिएकै बाकसमा रहेको संग्रहालय प्रशासनको भनाई छ ।

के छ श्रीपेचमा ? किन धेरैको चासो छ ? मूल्य कति हो ?
राजसिंहासनको बेला राजाले लगाउने श्रीपेच बहुमुल्य एवं दुर्लभ धातु जडित बस्तुबाट बनेको हुन्छ । नेपालमा श्रीपेचको शुरुवात कुन राजाका पालादेखि सुरुवात भएको हो भन्ने एकिन छैन । राजसंस्था भएका अधिकांश मुलुकमा सोही देशको गच्छे अनुसारका श्रीपेच प्रचलनमा ल्याईने गरिन्छ ।

नेपालमा राजा पृथ्वीनारायण शाहको फोटोमा समेत श्रीपेच लगाईएको देखिने गरेपनि स्वयं पृथ्वीनारायण शाहकै पालामा शिलामा अंकित उनको प्रतिमामा समेत थचक्क बसेको टोपीमात्रै देखिनुले इतिहासकारहरु समेत श्रीपेचको प्रचलनबारे अनविज्ञ छन् । तर अहिले भएको श्रीपेच तत्कालीन राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र हुँदै ज्ञानेन्द्रसम्मले प्रयोग गरेको बताउनुहुन्छ, इतिहासकार प्राध्यापक दिनेशराज पन्त । जुन श्रीपेचमा ५० वटा हिराका टुक्रा छन् भने रानीले लगाउने टायरामा २ हजार ७ सय टुक्रा छन । श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्की भने बर्ड अफ प्याराडाइज नामक चराको प्वाँख र पुच्छर हो ।

संसारमै दुर्लभ मानिएको र मार्न प्रतिबन्धित बर्ड अफ प्याराडाइजबाट श्रीपेच बनाईने भएकाले यसको महत्व एकदमै छ । यसबाहेक हिरामोती, माणिक, नवरत्न सुन जोडिएका हुन्छन् श्रीपेचमा । पूर्वराजाले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यसको लागत राख्ने क्रममा यसमा हिरामोती, माणिक, नवरत्न, सुन चाँदीको प्रयोग भएको लगत छ । जुन आफैंमा बहुमूल्य छ ।

अमूल्य एवं दुर्लभ वस्तुबाट निर्मित श्रीपेच पुनः सोही प्रकारको बनाउन असम्भव प्रायः नै रहेकाले यसको सुरक्षासँग जोडेर प्रर्दशनीमा राख्न नसक्ने कुरा स्वाभाविक भएपनि देशकै सुरक्षाको जिम्मा लिएको सेना, महत्वपूर्ण सुरक्षा निकाय प्रहरी, सशस्त्र प्रहरीले समेत सुरक्षा दिन सक्दैनन् भनेर बाकसमा थुनिरहनु स्वाभाविक अवश्य हुन सक्दैन । त्यसो त सेना स्वयंले पनि आफैंले मात्रै सुरक्षा दिन नसक्ने भएकाले प्रहरी सहितको भिन्दै अनुसन्धान विभागले सुरक्षा दिनुपर्ने माग गरेका समाचार पनि बाहिर नआएका होइनन् । तर हजारौं सेना, प्रहरी भएको देशमा सुरक्षाकै कारण श्रीपेच प्रदर्शनीमा आउन नसकेको भन्नु समग्र देशकै सुरक्षा व्यवस्था माथि खिल्ली उडाउनु हो । यदि हल्ला चलेजस्तै तत्कालीन राजा र सरकारबीच केही गम्भीर बुँदा मै सम्झौता भएका कारण श्रीपेच प्रदर्शनीमा नआएको हो भने निकै सोचनीय विषय बनेको छ ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...