कुन नेताका छोराछोरी कहाँ के गर्दैछन् ? कोही विदेश पलायन त कोही जागिरे

कुनैपनि देशको विकास गर्नुको पछाडि कुशल राजनीतिज्ञको हात महत्वपूर्ण मानिन्छ । नेपालमा अहिले सम्मको अवस्था हेर्ने हो भने कुशल नेतृत्वनै जन्मिएको छैन्, जस्तो लाग्छ । दश वर्षअघि जनयुद्धमा रहेका माओवादी र संसदवादी दलहरु बाह्रबुँदे समझदारी गर्दै समान राजनीतिक एजेण्डा बोकेर उभिए ।

एकअर्का विरुद्ध लडिरहेका दलहरु परिवर्तनको एजेण्डा बोकेर एकै ठाउँमा उभिँदा जनतामा शान्ति, सुशासन र समृद्धिको आशा जाग्यो । त्यही सपनाले झण्डै आधा दशक नेपालीहरुले नयाँ नेपालका सन्दर्भमा निकै ठूलो बहस गरे ।

झट्ट हेर्दा राजनीतिक स्वरुपमा निकै ठूलो परिवर्तन आयो । राजसंस्थाको अन्त्य भयो, नारायणहिटीमा बसेर हुकुमे शासन चलाइरहेको राजपरिवार राजधानीको पश्चिमतर्फ रहेको नागार्जुन दरबारमा सीमित बन्यो ।

तर, राज्यको पहलमा एउटा पनि नयाँ औद्योगिक कलकारखाना बनेनन् । बेरोजगारी समस्या चक्र्यो, राहदानी बनाउँदै खाडी मुलुक लम्कनेहरुको संख्या बढ्दै गयो । जनताको समस्या विकराल बन्दै जाँदा नेताहरु भने छोराछोरीलाई विदेशमा पढाउने र आफू बिरामी हुँदै पनि सिंगापुर र बैंककसम्म उपचार गराउन जाने हैसियतमा उक्लिए ।

छोराछोरीलाई सामुदायिक स्कुलमा पढाउँदा निजी क्षेत्रमा पढ्ने विद्यार्थीसँग प्रतिस्पर्धा गर्नै नसक्ने कमजोर शिक्षण अवस्था र निजी स्कुलमा पढाउन खर्चले धान्नै नसक्ने अप्ठेरो अवस्थामा आम अभिभावक पुगेका छन् । तर, यो पीडाले नेताहरु र तिनका छोराछोरीलाई पटक्कै छोएको देखिँदैन । देशभर कृषि उत्पादन प्रत्येक बर्ष घटिरहेको छ, भने तथ्यांक विभागका अनुसार विदेशबाट आयात हुने वस्तुको संख्या हरेक महिना बढिरहेको छ । तर, यो महंगीले पनि विदेशमा बसेका नेताका परिवारलाई छुने कुरै भएन ।

जनताले जुन समस्या भोगिरहेका छन् । यो समस्याबाट नेताहरुका परिवारजन प्रभावित छन्, कि छैनन् ? देशमा बढिरहेको महंगीको मारमा नेताका परिवार परेका छन्, की छैनन् ? आम नागरिकमा यो चासोको विषय बनिरहेको छ । आम नागरिकको मनमा कौतुहलता जागिरहेको छ कि कुन शीर्ष नेताका छोराछोरी कहाँ के गर्दैछन् आउनुहोस यही विषयमा चर्चा परिचर्चा गरांै ।

१. नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाका छोरा वीरध्वज के गर्दैछन् ?
नेपाली कांग्रेसको राजनीतिमा एक प्रखर नेताका रुपमा चिनिएका सभापति देउवा विद्यार्थी अवस्था देखिनै राजनीतिमा हाबी हुँदै आएका हुन् । उनी वैवाहिक जीवनमा गाँसिनु अघि नै कांग्रेसको केन्द्रीय राजनीतिमा उदाईसकेका थिए । उनले गृहमन्त्रीको पद सम्हाल्ने बित्तिकै आरजु राणासँग बिहे गरे ।

शेरबहादुर देउवाका एकमात्र सन्तान छोरा छन्, जसको नाम हो वीरध्वज देउवा । छोरा वीरध्वजलाई बुवा शेरवहादुरले गरेका राजनीतिक निर्णयको कुनै असर पर्दैन । उनी बेलायतमा राजनीतिशास्त्र विषयमा विद्यावारिधि गरिरहेका छन् ।

डडेल्धुरा असिग्राममा सम्पन्न परिवारमा जन्मिएका देउवाको बुढानिलकण्ठमा ठूलो घर छ । वीरध्वजलाई अहिले बुवाले गरिरहेका कुनैपनि राजनीतिक निर्णयको प्रवाह नै छैन । नेपालमा उत्पन्न समस्याले देउवा र उनको परिवारलाई छुँदैन । प्रधानमन्त्री समेत भईसकेका देउवा र उनकी श्रीमती आरजु दुवै सांसद छन् । आरजुले त अहिले विभिन्न गैरसरकारी संस्था चलाएर बसिरहेकी छिन् । देउवा परिवार वास्तवमै सम्पन्न छ ।

२. कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन कहाँ छन् ?
हरेक राजनीतिक छलफलमा सहभागी हुने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको परिवारलाई पनि खान लाउन कुनै समस्या छैन । तनहुँका ब्राह्मण परिवार भईकन पनि उनको परिवार सम्पन्न नै छ ।

रामचन्द्र पौडेलका एक मात्र छोरा चिन्तन पौडेल अहिले बेलायत भासिएका छन् । सुशिल कोईरालाको नेतृत्वको सरकारका पालामा नेता पौडेलका छोरा चिन्तन गरिब घरपरिवार पहिचान बोर्डका कार्यकारी प्रमुखमा नियुक्त भएका थिए । कोईराला नेतृत्वको सरकार हटेसँगै उनी बेलायत फर्किएका हुन् । पौडेलका चार छोरी छन् ।

ती मध्ये जेठी छोरीको चितवनमा सम्पन्न परिवारमा विवाह भएको छ । माईली छोरी पोखरामा बस्छिन् । उनका श्रीमान पोखरामा ईन्जिनियर छन् । त्यस्तै साईली छोरी विवाह गरेर अमेरिकामा बस्दै आएकी छिन् । कान्छी छोरी माछापुच्छ्र्रे बैंकमा काम गर्छिन् ।

३.कृष्णप्रसाद सिटौलाका छोरा श्याम अमेरिकामा पढ्दै :
कानुन व्यवसायबाट राजनीतिमा आएका कृष्णप्रसाद सिटौलाका दुई छोरी र एक छोरा छन् । छोरा श्याम सिटौलाले ईन्जिनियरिङ संकायको अध्ययन भारतको नयाँ दिल्लीमा सकेका छन् । उनी अहिले अमेरिकामा एमई तहको अध्ययन गरिरहेका छन् ।

सिटौलाका दुई छोरीहरु पनि अमेरिकामै बसोवास गर्दै आएका छन् । सधैं सत्ताको शक्तिमा छाईरहने सिटौलाले विभिन्न ठाउँमा जग्गा जमिन किनेका छन् । उनका छोराछोरीलाई नेपालमा हुने कुनैपनि राजनीतिक प्रभावले असर गर्दैन् ।

४. बिमलेन्द्र निधीका दुईटै छोरा ईन्जिनियर बन्ने तयारीमा :
कांग्रेसका प्रभावशाली नेता एवं वर्तमान सरकारका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका दुई छोरा छन् । निधिका जेठा छोरा अबिरल १२ कक्षासम्म जावलाखेलस्थित सेन्ट जेभियर्समा पढिसकेपछि उनी अहिले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा पढेका छन् ।

निधिका कान्छा छोरा अहिले प्लस २ को अध्ययन सकेर बसेका छन् । प्लस २ को अध्ययन सकेपछि कान्छा छोरापनि ईन्जिनियरिङ अध्ययनको लागि भारत जाने तयारीमा छन् ।

५. वरिष्ठ नेता माधवकुमार नेपालका छोराछोरी दुवै डाक्टर:
एमालेभित्र केपी शर्मा ओलीपछिका शक्तिशाली मानिएका माधवकुमार नेपाल समेत प्रधानमन्त्री भईसकेका व्यक्ति हुन् । अहिलेको राजनीतिक प्रक्रियामा उनी निकै क्रियाशिल छन् ।

उनको एक छोरा र एक छोरी छन् । तर दुवै जना नेपालको राजनीतिबाट भने टाढा बस्दै आएका छन् । उनीहरु दुवैजना डाक्टर हुन् । छोरी छालाको डाक्टर हुन्, भने छोरा अष्ट्रेलियामा बसेर विद्यावारिधी गर्दैछन् ।

७. पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनालका छोरा व्यापारी:
पूर्वप्रधानमन्त्री एवं एमालेका पूर्व अध्यक्ष झलनाथ खनालका एकमात्र छोरा छन्, निर्भिक चित्रकार खनाल अमेरिकाको अध्ययनपछि अहिले नेपालमै छन् । उनी एमाले निटक युवा संघका केन्द्रिय सदस्यका रुपमा राजनीतिमा रहेका छन् । उनी आमाको नाममा रहेको माछापुच्छ्रे हर्बल नामक उद्योग सञ्चालनमा आमालाई सघाउँछन् ।

यसबाहेक उनी विभिन्न चिनियाँ कम्पनीहरुलाई नेपालमा ल्याई लगानी गराउने र त्यसबापत उनी साझेदारी बन्ने उनको धन्दा छ । उनले विभिन्न ठेक्कामा पनि हात हालेका छन् ।

८. ईश्वर पोखरेलका छोरा वैज्ञानिक:
एमाले महासचिव ईश्वर पोखरेलका दुई छोरा छन् । ती मध्ये जेठा छोरा सिजन पोखरेल कृषि अध्ययन केन्द्र (नार्क) का वैज्ञानिक हुन् । उनी राजनीतिक क्षेत्रबाट टाढा रहेर वैज्ञानिक क्षेत्रको अध्ययन तथा अन्वेषणमा सक्रिय रहेका छन् । कान्छा छोरा सिसन पोखरेल अमेरिकाबाट अन्तर्राष्ट्रिय विषयमा अध्ययन गरी फर्किएर नेपालमा रहेका छन् ।

९. निसन्तान छन् एमाले अध्यक्ष केपी शर्मा ओली:
पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली अहिलेको राजनीतिका प्रमुख पात्र मानिन्छन् । अहिले राजनीतिक निर्णयको प्रभावमा उनको प्रमुख हात रहेको छ । अरु नेताका छोराछोरी विभिन्न पेशा व्यवसायमा लागेपनि केपी ओलीको भने कुनै सन्तान नै छैन ।

ओली र उनकी श्रीमती राधिका शाक्यबाट सन्तान प्राप्त भएन । छोरा छोरी नभएकाले होला एमालेको युवा राजनीतिमा लागेका केही युवा नेताहरुले केपी ओलीलाई बा भनेर बोलाउँछन् । झापा विद्रोहबाट राजनीतिमा प्रवेश गरेका अध्यक्ष ओलीको भक्तपुर बालकोटमा आफ्नै निजी घर छ । उनको दमक नगरपालिका झापामा समेत घर छ ।

१०. माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डका छोरा प्रकाश बाबुको स्वकीय सचिवः
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का तीन छोरी र एक छोरा छन् । जेठी छोरीको गत वर्ष क्यान्सरका कारण निधन भएको थियो । माईली छोरी रेणु दाहाल माओवादी केन्द्रमा आबद्ध भई राजनीतिमा सक्रिय छिन् । उनी पार्टीको केन्द्रिय सदस्य समेत हुन् । अर्की कान्छी छोरी विवाह गरेर सामान्य गृहिणी जीवन बिताईरहेकी छिन् ।

प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालले बाबुको स्वकीय सचिवको जिम्मेवारी सम्हालेका छन् । छोरा प्रकाशका कारण बाबु प्रचण्ड बेला बेला समस्यामा पर्ने गरेका छन् । मध्यम वर्गबाट राजनीतिमा होमिएका प्रचण्डले भूमिगत कालमा प्रवासमा बस्नुबाहेक आफ्ना छोराछोरीलाई अन्य पार्टीका नेताका छोराछोरी जस्तै विदेश पढ्न पठाएनन् ।

छोरा प्रकाश बाबुका सहयोगी बनेर सघाउँछन् । १० वर्षे जनयुद्धका सर्वोच्च कमाण्डर तथा शान्ति सम्झौतामा हस्ताक्षर गर्ने प्रमुख पात्र भएकाले उनको राजनीतिक निर्णयले सिंगो देशलाई नै असर पर्दछ । प्रचण्डको घर पश्चिम चितवन हो ।

१०. अझैसम्म अविवाहित नै छन् नारायणकाजी श्रेष्ठ:
माओवादी केन्द्रका प्रचण्डपछिका प्रमुख पात्रका रुपमा हेरिएका नारायणकाजी श्रेष्ठ अझैसम्म अविवाहित नै छन् । माओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठ शान्ति प्रक्रियापछिको राजनीतिमा महत्वपूर्ण भूमिकामा रहेका छन् । उनी माओवादीसँग २०६५ सालमा पार्टी एकता गरेर मुलधारको राजनीतिमा आएका हुन् ।

राजनीतिक निर्णय प्रक्रियामा उनको विशेष भूमिका रहन्छ । उनले अहिले सम्म बिहे नगरेकाले उनको सहयोगीको रुपमा एक महिला सुसन कर्माचार्यले सहयोग गरिरहेकी छिन् ।

११. कृष्णबहादुर महराका दुई छोरा बाबुको सहयोगी:
नेपालको राजनीतिलाई प्रभावमा पार्न सक्ने माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले वर्तमान सरकारमा उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । उनका दुई छोरा र दुई छोरी छन् । जेठी छोरी दाङमा किराना पसल चलाएर बसेकी छिन् भने कान्छी छोरी पनि दाङमै बस्छिन् । उनी दाङस्थित महेन्द्र बहुमुखी क्याम्पसमा मानविकी संकायमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् ।

महराका दुई छोरा मध्ये जेठो छोरा एटम महरा माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन् । उनी सेना समायोजन पूर्व माओवादी सेनाको ब्रिग्रेड कमाण्डर थिए । पछि उनी स्वेच्छिक अवकाश रोजेर राजनीतिमा आएका हुन् । कान्छा छोरा राहुल बुवाको स्वकिय सचिवको रुपमा कार्यरत रहेका छन् ।

१२. वर्षमान पुनका छोरा राजधानीकै एक महंगो स्कुलमा पढ्दै:
वर्षमान पुन अनन्त माओवादी केन्द्रका उदाउँदै गरेका एक प्रभावशाली नेता मानिन्छन् । पछिल्लो समय माओवादी केन्द्रका हरेक निर्णयमा उनको महत्वपूर्ण भूमिका रहँदै आएको छ । पुनका एक छोरा र एक छोरी छन् । उनले दुवै छोरा छोरीलाई सेन्ट जेभियर्स स्कुलमा पढाईरहेका छन् । रोल्पाको सामान्य मध्यमवर्गीय पृष्ठभूमिबाट नेपालको राजनीतिमा आएका पुनकी श्रीमती व्यवस्थापिका संसदको सभामुख ओनसरी घर्ती मगर हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार