धमाधम भत्किदैंछ पारिवारिक पद्धति, सम्बन्धबिच्छेदको डरलाग्दो तथ्याङक

नेपालमा महिला सशक्तिकरणको बहस चुलिदैं जाँदा यसका सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । यही भन्दा धेरै महिलावादीहरुले महिलाविरोधी आरोप लगाए अस्वाभाविक नमान्दा हुन्छ । तर पछिल्ला धेरै घटनाले यो भनाईलाई सही मानिदिन बल पुगेको छ । महिलामा बढ्दो आर्थिक आत्मनिर्भरता, स्वतन्त्र हुने चाहना र रेमिट्यान्सका कारण पारिवारिक पद्धति धमाधम भत्किंदैछ ।

यति मात्रै होईन श्रीमान् श्रीमतीबीच आत्मसन्तुष्टि नहुनु, कुनै निश्चित समयपछि श्रीमान् कुनै परस्त्रीसँग सम्बन्ध राख्न उद्दत हुनु, श्रीमतीपनि कुनै परपुरुषसँग यौन चाहना राख्न तल्लीन हुनु यी सबै पारीवारिक बेमेलका समस्याहरु हुन् ।

खासगरी पछिल्ला दिन महिला वा पुरुषको एकांकी स्वभावका कारण श्रीमान श्रीमती संयुक्तबाट छुट्टिएर एकल परिवारको रुपमा बस्ने गरेका छन् । यस्तो सम्बन्ध लामो समय नटिक्दा यस्ता आमाबाबुबाट जन्मेका बालबच्चाको समेत बिचल्ली हुन थालेको देखिन्छ ।

बालाजु बस्ने यशोधा क्षेत्री कानुनले बन्देज गरेको यौन व्यवसायमा लाग्न बाध्य छिन् । काठमाण्डौ नयाँ बसपार्क आसपासका क्षेत्रमा बसेर यौन व्यवसाय गर्ने क्षेत्री बालबच्चाकै दैनिकी टार्न यस्तो व्यवसायमा लाग्नुपरेको बताउँछिन् । चितवनको सम्पन्न परिवारमा जन्मेकी क्षेत्रीको बिवाह १७ बर्षअघि काठमाडौंकै एक स्थानीय युवकसँग भयो ।  बिहेपछि २ बच्चाका बाबुआमा बनेका उनीहरुको सम्बन्धमा एकाएक समस्या पैदा भयो । जसका कारण क्षेत्रीको सम्बन्धबिच्छेद भयो अनि उनी हार खान बाध्य भईन् ।

यो एउटा प्रतिनिधि घटनामात्रै हो । तर काठमाण्डौ जिल्ला अदालतमा पछिल्लो एकबर्षमा भएका सम्बन्धविच्छेदका फैसलाले पारीवारिक सम्बन्धको एउटा डरलाग्दो चित्र देखाउँछ । सुरुमा एकल परिवारबाट शुरु भएको यो आगोले आफन्त साथीभाई हुँदै नातागोता देखि कुल कुटुम्बसम्म छोएको देखिन्छ ।

खासगरी महिलाको आर्थिक आत्मनिर्भरता वा चारीत्रिक खोट, पुरुषको अव्यवहारिक एवं हाउडे प्रवृति, परम्परागत पारिवारिक संरचना र यसका संस्कार एवं बढ्दै गएको आधुनिकताकै कारण यस्तो अवस्था आएको बताउनुहुन्छ अधिवक्ता टिकाराम भट्टराई । को भन्दा को कम देखिन खोज्नु, पढेलेखेका श्रीमान् श्रीमती एकअर्कालाई सम्मान गर्न नसक्नु लगायतका कुरामा पनि सामान्य असमझदारी बढ्ने बित्तिकै निर्णय गरिहाल्ने प्रवृत्तिले सम्बन्ध विच्छेद बढेको अभिवक्ता भट्टराईको भनाई छ ।

सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन अनुसार, गएका १ बर्षमात्रै १२ हजार ४३७ सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा ९ हजार ७ वटा फैसला भएका छन् । जुन मुद्दामा सम्बन्ध बिच्छेद नै गरिहाल्नुपर्ने गम्भिर कारण देखिंदैन ।  लामो समयदेखि अधिवक्ताको रुपमा कार्यरत भट्टराई सम्बन्धबिच्छेदका घटनाको प्रकृतिमा केही बर्षमै धेरै बदलाव आएको बताउनुहुन्छ । पहिले पहिले दर्ता हुने सम्बन्ध बिच्छेदको घटना सासु ससुरा वा पारीवारिक सम्बन्धका कारण हुन्थे भने अहिले श्रीमान् श्रीमतीकै सानोतिनो आपसी कलहका कारण यो घटना बढेको बताईन्छ ।

सम्बन्ध विच्छेदको मुद्दा दर्ता हुनेमा मागी विवाह गर्ने भन्दापनि प्रेम विवाह गर्नेहरुको संख्या बढी छ । काठमाण्डौं जिल्ला अदालतमा पछिल्लो १ बर्षको अवधिमा सम्वन्धविच्छेद भएका ९ सय मुद्दामध्ये ५२ जना मात्रै सगोल परिवारमा बसेको उल्लेख छ । यिनै ५२ वटा मुद्दामा मात्रै सम्बन्ध विच्छेदसम्म पुग्नुको चित्तबुझ्दो कारण देखिएपनि भएका अन्य ७ सय ४८ मुद्दामा सम्बन्ध विच्छेदसम्म पुग्नुको खासै ठुलो कारण देखिंदैन ।

यी मुद्दालाई हेर्दा खासगरी वैदेशिक रोजगारका कारण सबैभन्दा बढी घरबार बिग्रिएको देखिएको छ । जसमध्ये अधिकांश पति विदेश गएका कारण यो घटना बढेको देखिन्छ । त्यसबाहेक केही मुद्दामा पति वा पत्नीको बहुविवाह, आर्थिक कारण, कुटपिट, समय नदिएको, बेवास्ता गरेको र अन्यमा विवाहेत्तर सम्बन्ध, अमिल्दो उमेर, शंका आदिका कारण सम्बन्धविच्छेद भएका छन् । अनौठो के छ भने सम्बन्धविच्छेद भएकामध्ये उल्लेख्य सङ्ख्या त विवाह लामो समयको प्रेम पछि भएको देखिन्छ । तीमध्ये केहीले प्रेममा परेपछि अाफैँ र बाँकीले घरपरिवारको सहमतिमा घरजम गरेका थिए । यसबाहेक अन्तरजातीय, जातीय भेदभाव र प्रेम सम्बन्धपछि अदालतबाट नाता कायम मार्फत पति–पत्नी बनेको जोडीहरुले पनि छोटो समयमै सम्बन्ध विच्छेद गरेको अभिलेख छ । अझै अनौठो त यहाँ गएको बर्ष ३ महिला र १ पुरुष विवाहकै भोलिपल्ट सम्बन्धबिच्छेदको उजुरी लिएर अदालत पुगेका थिए ।

यसरी हुने सम्बन्धविच्छेदका घटनाका कारण सबैभन्दा बढी मारमा बालबच्चाहरु पर्ने गरेका छन् । सम्बन्धविच्छेद पछि बालबच्चाको लालनपालनको जिम्मेवारी कसले लिने कोसँग राख्ने भन्ने विषयमा स्पष्ट कानुन नहुँदा धेरै बच्चाहरु यसको शिकार बनेका छन् । सम्बन्धविच्छेद मुद्दामा मिलापत्रको क्रममा बालबच्चालाई कसले राख्ने भनेर सोधिन्छ, तर बालबच्चाले के चाहन्छन् भनेर हेरिंदैन । बालबच्चालाई सबभन्दा बढी बाबुआमा चाहिने अवस्थाबारे कानुनमा स्पष्ट व्यवस्था नहुँदा कतिपय आमा वा बाबुले चाहँदा चाहँदै पनि बच्चा राख्न नपाएको र कतिपय मुद्दामा आमाबुबा दुवैले बच्चा राख्न नचाहेको देखिएको छ ।

धेरैजसो आमाले बच्चाको लालनपालन गर्ने गरी आमाकै साथमा बच्चा राख्नेगरी अंश बिगोको व्यवस्था गर्ने पद्धति अदालतमा भएपनि धेरै महिलाहरु आफैं अर्को सम्बन्ध बनाएपछि मात्रै सम्बन्धबिच्छेद गर्न आउने गरेकाले बच्चाहरु बाबुले पालनपोषण गर्ने गरि साथमै लैजानुपर्ने बाध्यात्मक अवस्था देखिएको छ । काठमाण्डौं विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. सुरेशराज शर्मा पछिल्लो पुस्ताले स्वेच्छा–अधिकारको मात्रै कुरा बुझेको तर त्यो सँगै जोडिएर आउने दायित्व–जिम्मेवारी नबुझेकाले जीवनभरका लागि हुनुपर्ने बैवाहिक सम्बन्ध कमजोर देखिन थालेको बताउनुहुन्छ ।

पुरुषले घरधन्दा महिलाको मात्रै ठान्ने र आर्थिक उपार्जनको स्रोत नभएका श्रीमानले पनि श्रीमतीको आर्थिक हैसियतलाई स्वीकार्न नसक्दा दम्पतीबीच दूरी बढ्ने गरेको अधिवक्ताहरु बताउँछन् । पत्नीको स्वतन्त्रतालाई पतिले आफ्नो पकडबाहिर गएको ठान्ने सोच्ने भएकाले पनि श्रीमान श्रीमतीबीच बैमनस्य बढेको देखिन्छ । यसका साथै श्रीमती माथि शंका गर्ने तर उनको मनोकांक्षा पूरा नगर्ने कारण पनि केही यस्ता घटना भएका छन् ।

‘जुनी भरका लागि’ भनेर विवाह सम्बन्धी पूर्वीय मान्यतालाई आधुनिक जीवनशैलीले कमजोर बनाउँदा र पारिवारिक सम्बन्धलाई भन्दा आफ्नो चाहना–इच्छालाई सर्वोपरि मान्ने मनोवृत्तिले व्यक्तिवाद सँगै सम्बन्धविच्छेद बढाएको छ ।  सम्बन्धबिच्छेदसम्बन्धी मुलुकी ऐनमा समेत धेरै त्रुटि भएकाले पनि सम्बन्धविच्छेद जस्तो पारीवारिक मुद्दा कागजी प्रक्रियामा मात्रै सीमित छ । प्रक्रियागत रुपमा जाने हो भने सम्बन्धविच्छेद चाहने पति वा पत्नी दुवैले स्थानीय निकायमा निवेदन दिनुपर्छ । त्यहाँका अधिकारीले दुवैको राय बुझेर सम्बन्धविच्छेद हुने वा नहुने तथ्यहरु लिई सिफारिश गरेपछि अदालतले मुद्दाको फैसला गर्नुपर्ने थियो । तर यस विधिबाट नगई महिलाले जुनसुकै कारणबाट सम्बन्धविच्छेद गरेपनि पतिबाट मानाचामल भराउन सक्ने भएकाले पारिवारिक सम्बन्ध सामान्य असमझदारीबाट सम्बन्धविच्छेदमै पुगेर टुंगिने अवस्था सिर्जना भएको छ ।

सम्बन्ध विच्छेदका घटनाहरु पछिल्लो समय धेरै बढ्दै गएको छ । कतिपय महिलाले पश्चिमी समाजको रहनसहन र देखासिकी गरेर सम्बन्धविच्छेदका मुद्दा धेरै दर्ता गर्ने गर्दछन् । भने श्रीमतीले श्रीमान्सँग अंश लिनका लागि पनि सम्बन्ध विच्छेद गर्ने गरेको प्रवृत्ति बढेको देखिन्छ । यस्तो मुद्दा हिजोआज अदालतमा धेरै दर्ता हुने गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार