सरकारी कर्मचारी नै मानव तस्करी धन्दामा लागेको खुलासा

काठमाडौं । नेपालको राजनीतिक अस्थिरताको फाइदा उठाउँदै सरकारी कर्मचारीहरु नै सेटिङ गरी वैदेशिक रोजगारीमा मान्छे पठाउने काम गरेको रहस्य खुलेको छ । ती कर्मचारीहरु अन्त कतैको नभई स्वयं वैदेशिक रोजगार विभागकै रहेको खुलेको छ ।
वैदेशिक रोजगार विभागमा काम गर्ने अधिकांश कर्मचारीहरु सेटिङमा मान्छे पठाउने धन्दामा लागेको खुल्न आएको छ । राज्यले दिएको तलब सुविधा र भत्ताले नपुगेर उनीहरु म्यानपावर व्यवसायीहरुसँग मिलेर मान्छे उडाउने धन्दामा लागेको रहस्य खुलेको हो । हुन त विभागमा काम गर्ने अधिकांश कर्मचारीहरु स्वच्छ छविका छैनन् । तिनीहरु कुनै न कुनै हिसाबले यस्ता धन्दामा लागिरहेका हुन्छन् ।
विभागमा काम गर्ने कर्मचारीहरुकै कारण वैदेशिक रोजगार व्यवसाय मर्यादित हुन सकिरहेको छैन । कर्मचारीहरु नै पैसा कमाउने लोभमा यस्ता गैर कानुनी धन्दामा लागेका हुन् । कहिले काहीँ कर्मचारीहरु श्रम स्वीकृति दिने नाममा मोटो रकम असुल्छन् भने कहिले काहीँ आफैं मान्छे उडाउने धन्दामा लागेका हुन्छन् ।
अहिले विभागकै कर्मचारी र केही म्यानपावर व्यवसायीले खाडी मुलुकमा घरेलु कामदार पठाउने नाममा ’मानव तस्करी’ गर्दै आएको रहस्य खुलेको हो । अवैधानिक ढंगले घरेलु कामदार बनेर खाडी मुलुक जानेलाई निरुत्साहन गर्नुको सट्टा विभागकै कर्मचारीहरु पैसाको लोभमा मानव तस्करी धन्दामा लागेको भेटिएको छ ।
श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार विभाग मातहतको ताहाचलस्थित काठमाडौं कार्यालयले गैरकानुनी ढंगले श्रम स्वीकृत दिएर मानव तस्करी धन्दालाई प्रश्रय दिईरहेको छ । सरकारले नयाँ कामदारलाई घरेलु कामदारमा जान प्रतिबन्ध लगाएका मुलुकमा विभागका कर्मचारीले श्रम स्वीकृत नवीकरण (रिइन्ट्री) र वैधानीकरणको (लिगलाइजेसन) का नाममा अनियमितता गरिरहेको स्रोतले जानकारी दिएको छ ।
सरकारले कुवेत, ओमान, बहराइन, साउदी, कतारलगायतका मुलुकमा नयाँ घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ । सरकारले घरेलु कामका लागि जान नयाँ कामदारमाथि प्रतिबन्ध लगाए पनि वैदेशिक रोजगार विभागका कर्मचारीको मिलेमतो (सेटिङमा) झूटो विवरण बनाएर श्रम स्वीकृत दिइएको भेटिएको छ ।
वैधानीकरण र श्रम स्वीकृत नवीकरण गर्ने बहानामा वैदेशिक रोजगार विभागले आर्थिक चलखेल गरी अहिलेसम्म नगएका व्यक्तिलाई पनि पठाउने गरेका छन् । नयाँ कामदारलाई यसअघि नै विदेश गएको विवरण बनाई श्रम स्वीकृत लिन श्रम तथा रोजगार मन्त्रालयका उच्च अधिकारीले संरक्षण दिएको स्रोतको दाबी छ । त्यसको पछिल्लो उदाहरण बनेकी छन् दोलखाकी सुनिता तामाङ ।
विभागले कुवेत नगएकी दोलखा मागापौवा गाविस(२ की कुमारी तामाङलाई घरेलु कामदारका लागि पुस ७ गते ३१४६६५७ नम्बरको श्रम स्वीकृति दिएको छ । उनलाई कुवेत पुगेकी सुनिता तामाङको नाममा जारी राहदानीका आधारमा श्रम स्वीकृत नवीकरण गरिएको खुलेको छ ।
आगमन र प्रस्थान जाँच गर्दा कुमारी तामाङ कुवेत पुगेको खुल्दैन । विमानस्थलस्थित अध्यागमन कार्यालयले तामाङको रेकर्ड हेर्दा विगतमा कुवेत नगएको पाएपछि उनलाई प्रस्थान अनुमति दिएन र उनी फर्किन् । विभागका कर्मचारीले प्रलोभनमै नाम मिलेको फाइदा उठाउँदै अर्कै सुनिताको राहदानीका आधारमा तामाङलाई श्रम स्वीकृति दिएको खुलेको छ ।
दुवै सुनिताको राहदानी नम्बर र जन्ममिति फरक पाएपछि विमानस्थल अध्यागमनले तामाङलाई फिर्ता गरेको थियो ।
सुनिता मात्र होइन, उनीजस्ता सयौंलाई वैदेशिक रोजगार विभागले गलत विवरणमा श्रम स्वीकृत दिएको छ । पछिल्लोपटक विमानस्थल अध्यागमन कार्यालयले झन्डै २० जना त्यस्ता कामदारलाई फिर्ता गरेको छ ।
विमानस्थलस्थित अध्यागमन कार्यालयले विभागले जथाभाबी श्रम स्वीकृति दिएका कामदारलाई फिर्ता गर्न थालेपछि वैदेशिक रोजगार विभागको लापरबाही सतहमा आएको हो । एउटा कर्मचारीले गलत काम गर्दै आएपनि अर्को विभागका कर्मचारीहरुले भने त्यसलाई रोकीरहेका छन् ।
वैदेशिक रोगजार विभागले वैधानिक प्रक्रियाबाट गएर फर्केर आएकालाई श्रम स्वीकृत नवीकरण (रिइन्ट्री) गरी पठाउने गरेको छ भने विभिन्न तरिकाले खाडी मुलुक गएर फर्केकालाई वैधानीकरण (लिगलाइजेसन) मार्फत श्रम स्वीकृत दिने गरेको छ । विभागमा रहेका नायब सुब्बा, शाखा अधिकृत र निर्देशक तहका कर्मचारीहरु नै म्यानपावर व्यवसायीसँग मिलेर यस्तो गैर कानुनी धन्दामा लागेको भेटिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार