राष्ट्रपति बनाउने ओलीको प्रस्ताव नेम्वाङद्वारा अस्वीकार

वरिष्ठ उपाध्यक्षमा अडिग

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास गरेका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि विधान संशोधनसमेत गरेका ओलीले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका सुवास नेम्वाङलाई राष्ट्रपति बनाउने प्रस्ताव गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका नेम्वाङलाई हालका महासचिव ईश्वर पोखरेलका लागि सहज बनाउन प्रतिस्पर्धामा नआउन भनिएको हो । स्रोतका अनुसार ओली निकट नेताहरूले नेम्वाङलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवार नबन्न दबाब दिइरहेका छन् । ईश्वर पोखरेललगायतका नेताहरूले नेम्वाङलाई पार्टीमा बसेर आगामी निर्वाचनपछि राष्ट्रपतिको तयारी गर्न भनेको स्रोतले जानकारी दियो ।

तर नेम्वाङले आफू वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बन्ने कुरा ओलीलाई जानकारी गराएको बताइएको छ । वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत हुनका लागि पोखरेलले ओलीको साथ पाएको बताइएको छ । तर, नेम्वाङलगायतका नेताहरूले भने आफू पनि उम्मेदवार बन्ने अडान लिएपछि पोखरेल र ओली अप्ठ्यारोमा परेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार