कास्की कांग्रेसको सभापतिमा कसैकाे बहुमत पुगेन, आज फेरि मतदान

नेपाली कांग्रेस कास्की सभापतिमा कसैले पनि बहुमत नपुगेपछि फेरि मतदान तय भएको छ । सभापतिका पाँच उम्मेदवारमध्ये सबैको ५० प्रतिशतभन्दा कम मत भएपछि नेतृत्व चयनका लागि आज दोस्रो पटक मतदान हुने भएको हो ।

सभापतिमा सबैभन्दा बढी किशोरदत्त बरालले ६४४ र दोस्रोमा सुदीपमोहन भट्टराईले ४६९ मत पाए । तेस्रोमा आईबहादुर गुरुङले ४६२, चौथोमा पोषनाथ शर्माले ३३५ र गिरीराज गौतमले ६३ मत पाए। ४७ मत बदर भएको निर्वाचन अधिकृत रामचन्द्र पौडेल ‘विमल’ ले जानकारी दिए । विधानतः पहिलो चरणमा कसैले ५० प्रतिशत भन्दा बढी मत नपाए पहिलो र दोस्रो हुने उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन्छ ।

बराल केन्द्रमा शेरबहादुर देउवा निकट हुन् भने भट्टराई यसअघि कृष्ण सिटौलातिर भए पनि अहिले क्याम्प फेरेर गगन थापातिर लागेका छन् । पुराना नेता शुक्रराज शर्मालाई फकाएर देउवाले जिल्ला सभापति आफ्नो पोल्टामा पार्ने अवस्था छ । शर्माले यसअघि आईबहादुर गुरुङलाई समर्थन गरेका थिए ।

शर्माको समर्थन बरालले पाए उनी विजयी हुने सम्भावना छ । गगन थापा र शेखर कोइरालाहरु पनि बराल हराउने अभियानमा छन् । उनीहरुले देवराज चालिसे र यज्ञबहादुर थापाहरुको ‘च्यानल’ प्रयोग गर्ने देखिन्छ । यसअघि चालिसेको समर्थन पोषनाथ शर्मा र थापाको समर्थन गिरीराज गौतमलाई थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार