एमालेमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थपेर सर्वसम्मत गर्ने निर्णय

नेकपा एमालेमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप्ने निर्णय भएको छ ।

शुक्रबार अबेर राति सौराहस्थित होटल जंगल क्राउनमा बसेको अन्तिम केन्द्रीय समिति बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म पदहरु बढाएर सर्वसम्मत रुपमा एकताको महाधिवेशन बनाउने निर्णय गरेको हो ।

‘अब सर्वसम्मत नहोला भन्न सकिन्न । हिजोको तुलनामा आज सम्भावना बढ्यो । ठ्याक्कै भन्न सकिन्न । केन्द्रीय कमिटीले सर्वसम्मत नेतृत्व चयनको आग्रह गरेको छ । तर यो प्रतिनिधिको अधिकारको कुरा हो । आजको निर्णयले एमालेबाट सहमतिको बाटो खोलेको छ । कोसिस त्यो ढंगले हुन्छ,’ बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने ।

निर्णयअनुसार अब एमालेमा केन्द्रीय समिति ३०१ सदस्यीय हुनेछ । त्यसैगरी ९९ सदस्यीय पोलिटब्यूरो गठन हुनेछ । स्थायी कमिटी ४५ सदस्यीय नै यथावत रहनेछ । पदाधिकारीतर्फ १९ जना हुनेछ । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव हुनेछन् ।

‘अहिलेको आवश्यक हेर्दा २२५ नपुग्ने भएको, नयाँ अनुहार ल्याउन, पूराना साथीहरुको योग्यता क्षमताअनुसार काम गर्ने अवसर कायम गर्ने र नयाँलाई पनि आउने वातावरण बनाउन थप गरेर ३०१ बनाउने निर्णय भएको हो,’ भट्टराईले भने ।

केन्द्रीय कमिटीको एकतिहाइ पोलिटब्यूरो हुने उनले बताए । विधान महाधिवेशनबाट पारित विधान हेरफेर गरिएको भट्टराईले जानकारी दिए । विधान संशोधन प्रस्ताव बन्द सत्रमा प्रस्तुत गरिने उनले बताए ।

अन्तिम केन्द्रीय समिति बैठकले आयोगहरुको संख्या पदाधिकारीसहित १५ रहेकोमा बढाएको छ । भट्टराईकाअनुसार अनुशासन लेखा र निर्वाचन आयोगको पदाधिकारीसहित अब २५ सदस्यीय हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार