राजनीतिमा एकअर्कालाई खुइल्याउने कार्य बन्द गरौँ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली राजनीतिमा देखिएको एकअर्कालाई खुइल्याउने प्रवृत्ति बन्द गर्नुपर्ने बताएका छन् ।

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सबै राजनीतिक दलहरूको संघर्षले प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि दलहरूबीच खुइल्याउने कार्य बन्द गर्नुपर्ने बताए ।

उनले भने– ‘हामी राजनीतिक गर्ने व्यक्तिहरू नसुध्रीकन देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई अगाडि राखेर राज्य र जनताको स्वार्थलाई अगाडि राखेर हामीले राजनीति गरेनौँ, राजनीतिलाई विशुद्ध पेसाको रूपमा अपनायौँ भने नेपाली जनताले यस्तो अप्ठेरो अवस्था देखिरहन्छन् । हामीले बाह्य शक्तिलाई दोष लगाउँछौँ । बाह्य शक्ति त खेल्छ त हामीले लडाई गर्नुपर्ने, हामीले एकले अर्कोलाई खुइलाउनुपर्ने, बदनाम गर्नुपर्ने, बाहिरकाले त्यही खोजिरहेका छन् ।’

देश र जनताका लागि पनि राजनीतिक दलबीच एकताबद्ध भएर संघीयता र गणतन्त्रको रक्षा गर्नुपर्नेमा उनको भनाइ छ । उनले विश्वमा कम्युनिष्ट आन्दोलन ओझेलमा परिरहेका बेला नेपालको कम्युनिष्ट आन्दोलनमा सबैभन्दा बढी झगडा रहेको बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलनेको तितो पिरो बाह्य शक्तिलाई सुनाएर उनीहरूलाई खेल्न दिन नहुने बताए ।

अध्यक्ष केसीले पनि महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार