म्याद सकिएको नारायणी पुल खचाखच, एम्बुलेन्स समेत पास हुन सकेनन् (भिडियो)

नेकपा एमालेको १०औँ अधिवेशनमा सहभागी हुन देशभरबाट चितवन आएका महाधिवेशन प्रतिनिधि र सर्वसाधारणले नारायणगढ भरिभराउ भएको छ । यही क्रममा महाधिवेशन हेर्न आएका सर्वसाधारणको भिडले नरायणी नदीको पुल भरिएको छ ।

यो पुलको म्याद सकिइसकेको छ । म्याद सकिएको पुलमा क्षमताभन्दा बढी सर्वसाधारण पुग्दा जोखिम बढेको छ । यसलाई सार्वसाधारणले जोखिमपूर्ण मानेका छ । नारायणाी नदीमाथिको यो पुल ४२० मिटर लामो छ । यो पुल २०३७ सालमा निर्माण भएको थियो ।

यो पुलको म्याद सकिएपछि यसअघि नै नयाँ सिग्नेचर पुल बनाउन विज्ञहरूले सुझाव दिएका थिए । तर नेताहरूले यो पुललाई चुनावी एजेण्डा मात्रै बनाउँदै आएको सर्वसाधारणको आरोप छ ।

प्रशासनले महाधिवेशनको सुरक्षालाई दृष्टिगत गर्दै भरतपुरमा सवारीसाधन भित्रिन रोक लगाएपछि अहिले पूर्व-पश्चिम राजमार्गमा हजारौं सवारीसाधनको लाइन लागेको छ ।

भिडका कारण नारायणगढस्थित पुल्चोक क्षेत्रबाट पास हुने ७ वटा एम्बुलेन्सहरु करिब एक घण्टादेखि जाममा फसेका थिए । जसले गर्दा एम्बुलेन्सभित्र रहेका बिरामीहरुलाई सास्ती भोग्नु परेको छ ।

एमाले महाधिवेशनको असर पृथ्वी राजमार्गमा समेत परेको छ । काठमाडौंबाट नारायणगढ र पोखरा हिँडेका यात्रु सडकमै अलपत्र परेका छन् । पश्चिममा नवलपुर र पूर्वमा हेटौंडा दुवैतर्फ सवारीसाधनको लामो लाइन लागेको छ ।

यसअघि स्थानीय प्रशासनले एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, प्रेसलगायतका सवारी साधनलाई व्यवस्थापन गरेर सञ्चालन गर्न दिइने बताए पनि संचालन हुन सकिरहेका छैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार