कानुन व्यवसायीहरूलाई प्रधानमन्त्रीको जवाफ- छिट्टै निकास निकाल्छु

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई लिएर जारी विवादको निकास छिट्टै निकाल्ने आश्वासन दिएका छन् ।

नेपाल बार एसोसिएसनसँग शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले गठबन्धनका दलसँग छलफल गरेर निकास निकाल्ने बताएका हुन् ।

नेपाल बारका महासचिव लिलामणि पौडेलले कानुन व्यवसायीका कुरा सुनेपछि प्रधानन्यायाधीशका विषयमा आफू गम्भीर रहेको प्रधानमन्त्रीले बताएको जानकारी दिए । ‘प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनममा रहेका दलहरूसँग सल्लाह गरेर छिट्टै निकास हुने कुरामा विश्वास दिलाउन चाहन्छु भन्नुभएको छ,’ पौडेलले भने ।

छलफलका क्रममा मङ्सिर ६ गते बारले सभामुख र राजनीतिक दलको संसदीय दलको कार्यालयमा बुझाएको ज्ञापनपत्र प्रधानमन्त्रीलाई पनि बुझाएको थियो । उनले भने, ‘अस्ति जसरी सभामुख र राजनीतिक दलका संसदीय दलमा हामीले ज्ञापनपत्र बुझाएका थियौँ । त्यही ज्ञापनपत्र प्रधानमन्त्रीज्यूलाई बुझायौँ । हामीले लिखित डकुमेन्टका साथै आफ्नो मौखिक रूपमा पनि कुरा राख्यौँ ।’

लामो समयदेखि सर्वोच्च अदालतकै न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् । पछिल्लो पटक सर्वोच्च अदालतको नियमावली संशोधन गरेर १५ मंसिरदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार