नेता पुनको स्वास्थ्य सुधार नभएपछि बैंककबाट चीनको सेन्जेन लगियो

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनलाई थप उपचारका लागि चीनको सेन्जेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगिएको छ ।

पुनलाई विश्वमै बिरलै देखिने जटिल प्रकृतिको जण्डिस देखा परेको छ । उनी डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका थिए ।

नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेन्जेन गएका छन् । उनीहरू आजै मध्यान्ह अस्पताल पुगेर उपचार सुरू हुने बताइएको छ ।

बैंककको समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरूले अब यहाँभन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेन्जेन लैजान सुझाव दिएका थिए । काठमाडौंबाट बैंकक लैजाँदा पुनको जण्डिस (बिलरुविन) को तह बढेर १८ पुगेको थियो । थाइल्यान्डमा उपचार गरेर घटेको बिलरुविन पछि अति नै बढेको पुननिकट स्रोतले बतायो ।

यसरी बिलरुविन धेरै तलमाथि गर्दा शरिरका अन्य अंगहरूमा पनि त्यसको असर पर्न सक्ने भएको र समितिभेज अस्पतालकै सुझावमा उनलाई चीन लगिएको हो ।

कोरोनाको संक्रमणको त्रास र आवत जावतमा चीन सरकारले लगाएको कडा मापदण्डका कारण थप उपचारका लागि चीन लैजानका लागि चिनियाँ पक्षसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पहल गरेका थिए । वंशाणुगत रुपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १६ गते बैकक गएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार