पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले चलायमान बनाएको छ । यससँगै आउँदा दिनमा यहाँको पर्यटन व्यवसायका लागि महाधिवेशन फलदायी हुने देखिएको छ ।

देशभरबाट आउने प्रतिनिधि र पर्यवेक्षकसँगै स्वदेशी तथा विदेशी पाहुनाले यहाँको पर्यटकीय महत्वको सन्देश बोकेर जाने भएका छन् । यसबाट पर्यटकीय नगरी सौराहासँगै जिल्लाभरको पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुने भएको छ । महाधिवेशनको उद्घाटनका दिन शुक्रबार पाँच लाख मान्छे भेला गर्ने योजनामा एमाले रहेको छ । बन्दसत्र हुने सौराहामा १० हजार हाराहारी पुग्ने अनुमान गरिएको छ ।

भरतपुर महानगरपालिका पर्यटनविज्ञ डा विश्व सुवेदी महाधिवेशनजस्ता ठूला कार्यक्रमले पर्यटनसँग सम्बन्धितसँगै अन्य क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने बताउछन् । सभा, सम्मेलन पर्यटन आफैँमा महत्वपूर्ण हुने जनाउँदै उनले मौसमी पर्यटनमा मात्र आश्रित यहाँका व्यवसायीलाई ऊर्जा थपेको बताए । उनले भने, “सभा, सम्मेलन पर्यटनले बेमौसमी पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ ।” पर्यटनसँगै यसले यातायात, कृषिजन्य उत्पादनलगायतमा ठूलो टेवा पुग्ने उनको भनाइ छ ।

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराई अहिले तत्कालका लागि धेरै फाइदा नभए पनि दीर्घकालीनरूपमा यसबाट धेरै फाइदा पुग्ने बताउछन् । महाधिवेशनमा सहभागी हुने स्वदेशी र विदेशी पाहुनाले यहाँको पर्यटकीय महत्वको सन्देश बोकेर जाने उनको भनाइ छ । महाधिवेशन अवधिमा सौराहाका होटल, घरबास र रत्ननगरका होटलमा गरेर १० हजार हाराहारी बसोबास गर्ने जनाउँदै उनले भने, “उनिहरू फर्कँदा चितवनको पर्यटकीय महत्वको सन्देश लिएर देशभरि पुग्नुहुने छ, यो हाम्रा लागि महत्वपूर्ण अवसर हो ।”

कतिपयका लागि सौराहा पहिलो गन्तव्य हुने भन्दै जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे आउँदा दिनमा महाधिवेशनको प्रभाव थप देखिने बताउछन् । उनले भने, “नेकपा एमालेको महाधिवेशनले कोरोनाबाट शिथिल बनेको यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने छ ।” यो घुम्ने मौसम पनि भएकाले घिमिरेले चिनिएको गन्तव्य सौराहाको थप प्रचारप्रसारमा टेवा पुग्ने बताए ।

द नारायणी रिसोर्ट गौँडाकोटका महाप्रबन्धकसमेत रहेका पत्रकार वसन्त पराजुली यो महाधिवेशनले चितवन र नवलपरासीको गैँडाकोटसम्म लाभान्वित भएको बताउछन् । उनले भने, “कोरोनाबाट थला परेका व्यवसायीलाई यसले ऊर्जा थपेको छ ।” निरास भएका व्यवसायीलाई भरोसा थपेको जनाउँदै उनले यसको दीर्घकालीनरूपमा सकारात्मक प्रभाव रहने बताए । आफ्नो होटलमा महाधिवेशनभरिका लागि होटल बुकिङ भएको उनको भनाइ छ ।

होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश चुके चितवनका होटल व्यवसायीका लागि एमाले महाधिवेशन अमृत जल भएको बताउछन । उनले भने, “यसले दीर्घकालीनरूपमा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्छ ।” महाधिवेशनले नारायणी नदी किनारलाई एउटा महत्वपूर्ण गन्तव्यका रूपमा परिचित बनाएको चुकेको भनाइ छ ।

नेकपा एमालेका नेता रामप्रसाद न्यौपाने महाधिवेशनले यहाँका पर्यटन व्यवसायीका लागि सन्जीवनी बुटीको काम गर्ने बताए । उनले भने, “यसले होटल व्यवसायीमा नयाँ जीवन प्रदान गरेको छ ।” वर्षौँसम्म राष्ट्रभरि र अन्तर्राष्ट्रियरूपमा यसको सन्देश पुग्ने न्यौपानेको बुझाइ छ । उनले भने, “हाम्रो महाधिवेशनले चितवनको पर्यटन क्षेत्रमा अदभूत फाइदा पुग्ने छ ।” अन्य क्षेत्र पनि लाभान्वित हुने न्यौपाने बताउछन्।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि तीन दिनसम्म सञ्चालन हुने छ । कोभिडका कारण पूर्णरूपमा प्रभावित बनेका होटलका सबै कोठा बुकिङ भएका छन् । न्यौपानेले महाधिवेशनका कारण सौराहामा मात्र रु १० करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको बताउछन् । उनको भनाइमा भरतपुरमा रु पाँच करोडभन्दा बढीको कारोबार हुनेछ । यसबाट समग्र चितवनको अर्थतन्त्रमा टेवा पुग्ने न्योपानेको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार