हेर्दाहेर्दै र निर्णय सुनाउने मिति तोकिएका मुद्दा पनि गोला प्रक्रियाबाट पेसी तोकिने

सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले यसअघि नै सुनुवाइ सुरु भएर हेर्दाहेर्दैमा रहेका र सुनुवाइ भइसकी निर्णय सुनाउने (निसु) मिति तय भएका मुद्दा पनि गोला प्रक्रियाबाट पेसीमा तोक्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बाहेकका उपलब्ध १८ न्यायाधीशको फुलकोर्ट बैठकले बिहीबार उक्त निर्णय गरेको हो । फुलकोर्टले गरेको निर्णयमा प्रधानन्यायाधीश जबराले हस्ताक्षर गरेर कार्यान्वयनका लागि बाटो खोल्नेछन् ।

‘हामीले प्रधानन्यायाधीशज्यूले गरेका हरेक क्रियाकलापमा शंका छ भनेर यत्रो संघर्ष गर्नुपरेको छ । त्यसले गर्दा उहाँले तोकेको इजलासबाट टुंगिन लागेका मुद्दामा समेत शंका हुने भयो’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘त्यही भएर हेर्दाहेर्दमा राखिएका र निर्णय सुनाउने भनिएका मुद्दा समेत फेरि गोलाप्रथाबाट तय गर्ने टुंगो भएको छ ।’

सर्वोच अदालतमा मंसिर १५ गते बुधबारदेखि गोला प्रक्रियाबाट इजलास तोक्ने निर्णय पनि पुर्ण बैठकले गरेको थियो । प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार कटौती गर्दै गोला प्रक्रियाबाट इजलास गठन र मुद्दाको पेसीको निर्णय भएको हो । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले सर्वोच्च अदालत दोस्रो संशोधित नियमावलीको प्रावधान अनुसार मंसिर १५ गतेबाट गोला प्रक्रियाबाट इजलास तोक्ने समय निर्धारण गरिएको जानकारी दिए ।

गोला प्रणालीबाट इजलास तोकिएसँगै कात्तिक ८ गतेदेखि इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरूले आगामी बुधबारबाट सबै प्रकारका मुद्दा हेर्ने भएका छन् । न्यायाधीशहरूले गोला प्रक्रियाबाट पेसी तोकिएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भने इजलासमा नबस्ने र उनलाई त्यस प्रक्रियामा सहभागी नहुन भन्दै आएका छन् । न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरालाई राजीनामा गरेर न्यायालयलाई निकास दिन भनिसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार