नेकपा माओवादीका पूर्व केन्द्रीय सदस्य सुजन यादव औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको छ ।
सर्लाही जिल्लास्थित बलरा नगरपालिकामा स्थायी घर भएका नेता यादवको सर्लाहीसहित मधेशका अन्य जिल्लाहरुमा पनि बलियो पकड रहेको बताइन्छ । माओवादीमा रहँदा मातृका यादवको अतिनिकट रही कार्य गरेका यादवले काठमाडौं उपत्यका ब्यूरो सचिव भएर समेत काम गरेका थिए ।
झुठो मुद्दामा सात वर्ष लामो जेल जीवन बिताएर केही महिना अघिमात्र रिहा भएका यादव पछिल्लो समय प्रगतिशिल मोर्चा बनाएर देशैभर सक्रिय रहेका थिए । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले छलफल गरेर एमालेमा प्रवेश गराएका हुन् ।
नेता यादवको एमाले प्रवेशले माओवादीलाई सर्लाहीसहित अन्य जिल्लामा समेत असर पर्ने देखिन्छ ।