पाकिस्तान गम्भीर आर्थिक संकटमा, प्रधानमन्त्री खान भन्छन् ‘देश चलाउन पैसा छैन’

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश चलाउन पैसा नभएको बताएका छन् । साथै ऋण पनि बढिरहेको उनको भनाइ छ ।

मंगलबार इस्लामाबादमा आयोजित एक समारोहमा बोल्दै उनले भने, ‘जसरी घरमा आम्दानी कम र खर्च धेरै हुँदा समस्या उत्पन्न हुन्छ, पाकिस्तानको हालत पनि त्यस्तै भएको छ  ।’

इमरानका अनुसार अहिले ठूलो समस्या भनेको एकातिर देश चलाउन पैसा नहुनु र अर्कोतिर ऋण पनि बढ्दै जानु हो । ‘पाकिस्तानमा करको संस्कार (ट्याक्स कल्चर) कहिल्यै बसेन’, इमरान भन्छन्, ‘कर छल्ने काम राम्रो होइन । तर, जनताले यसलाई बुझ्नै चाहेनन् । मैले पाकिस्तानमा कर तिर्ने संस्कार किन बसेन भनेर चिन्ता गरें ।’

आफूहरु स्वतन्त्र भएपछि शासक वर्गले कर संस्कारलाई महत्व नदिएको गुनासो गर्दै प्रधानमन्त्री इमरानले भने, ‘शासक वर्गको जीवनशैली हेर्दा आम जनताले आफूले तिर्ने करले शासक वर्गलाई फाइदा पुगेको देखे ।’

पछिल्लो १० वर्षमा पाकिस्तानको ऋण ६ हजार ट्रिलियनबाट बढेर ३० हजार ट्रिलियन पुगेको इमरान बताउँछन् । ‘आखिर कसरी यस्तो भयो ?’ उनी स्वयम् प्रश्न गर्छन्, ‘कुनै इन्फ्रास्ट्रक्चरमाथि ठूलो काम भएको छैन । कुनै ड्याम बनेका छैनन् । तर, देशमा ऋण यति बढेको छ कि हाम्रो सरकारले आजसम्म यो विषम परिस्थितिको सामना गरिरहेको छ ।’

पाकिस्तान सरकारमा अहिले ‘रेकर्ड ट्याक्स’ संकलन भएको छ । र, यो संकलन ६ हजार अर्बसम्म पुग्ने आशा गरिएको छ । तर, ६ हजार अर्बमध्ये ३ हजार अर्ब त ऋणको किस्ता बुझाउँदैमा सकिनेछ । त्यसपछि २२ करोड जनताका लागि केवल ३ हजार अर्ब बाँकी रहन्छ । यसैमा स्कुल, अस्पताल तथा अन्य व्यवस्था गर्नुपर्ने हुन्छ । यतिले नपुग्ने भएपछि ऋण लिनुपरेको इमरानको भनाइ छ ।

इमरानका अनुसार पाकिस्तान सरकारले कैयौं कुरालाई पेपरलेस गरेको छ । यसबाट जनतालाई फाइदा पुग्नुका साथै विभिन्न कुरामा पारदर्शीता पनि देखिएको छ । प्रविधिको सहयोगमा भ्रष्टाचार पनि रोकिरहेको उनले बताए ।

‘पुरानो सिस्टमाबाट ज–जसले फाइदा उठाइरहेका छन् तिनले कहिल्यै परिवर्तन आउन दिँदैनन्’ इमरान भन्छन्, ‘हामीले युटिलिटी स्टोरभित्र बिललाई अटोमेटिक गर्ने कोसिस गर्यौं । तर, जनता अदालत गए । तिनले एफबीआरभित्र अटोमेसन हुन दिइरहेका छैनन् । अनि सरकारलाई पैसा आउँदैन । तर, मान्छेले पैसा बनाइरहेका छन् ।’

गत फेब्रुअरी महिनामा इमरानले ढाइ वर्षे शासनकालमा पाकिस्तानले २० अर्ब डलर विदेशी ऋण तिरेको दाबी गरेका थिए । जुन अहिलेसम्मकै रेकर्ड हो ।

पीटीआईले ढाइ वर्षे शासनकालमा २० अर्ब डलर विदेशी ऋण त चुकायो । तर, सोही कार्यकालमा देशको कूल ऋण अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको चाहि सत्य हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार