सचिवमा नै उम्मेदवारी दिने योगेश भट्टराईको घोषणा

भन्छन्, 'अहिले म चौतारीमा बस्दै छु'

नेकपा एमालेका सचिव योगेश भट्टराईले आफूले सचिवमा नै उम्मेदवारी दिने बताएका छन् । चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेद्वार रहने र अहिलेनै माथिल्लो पदमा जान नखोजेको बताए ।

‘लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ । म अहिले चौतारीमा बस्दै छु । सचिव पदमा उठ्ने तयारी गरेको छु,’ उनले भने ।

उनले अहिले नै माथिल्लो पदमा जान खेज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना भए झैँ हुने बताए । एमालेको १०औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ थियो ।

उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापनको काम र बन्द सत्रका लागि हल निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले नारायणी नदी किनारमा गैँडाकोट तर्फ पनि बसेर हेर्नका लागि व्यवस्था गरिएको जानकारी दिए ।

अहिले नेपालको सम्पूर्ण ध्यान चितवन केन्द्रित भएको भन्दै उनले प्रतिनिधि र नेता यहाँ आउने क्रम सुरु भएको जानकारी दिए ।

Loading...