एमाले महाधिवेशनः गैँडाको मस्कट तयार

चितवनमा मंसिर १० गतेदेखि १२ गतेसम्म हुने नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनको लागि मञ्च निर्माण, सुरक्षा व्यवस्था, प्रतिनिधिलाई खानपान तथा आवासको व्यवस्था र प्रचारप्रसारका काम धमाधम भइरहेका छन् ।

एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको लोगोमा राखेको गैँडाको मस्कटको मूर्ति पनि तयार भएको छ । एमालेले गैँडाको मस्कटसहितको लोगो २६ कात्तिकमा सार्वजनिक गरेको हो । लोगोमा मस्कटले कम्युनिष्ट पार्टीको झण्डा बोकेको छ ।

एमालेले साढे तीन लाख रुपैयाँ खर्चिएर गैँडाको मस्कट तयार गरेको हो । चितवन एकसिंगे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमालेले जनाएको छ । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टिमले १० दिन लगाएर गैँडाको मस्कट तयार गरेको हो ।

यसरी बनाइयो मस्कट
मूर्तिकारले विशेषगरी कास्टिङ र कार्बिङ गरेर दुई किसिमले मूर्ति बनाउँछन् । कार्बिङमा काठ र ढुंगामा मूर्ति बनाइन्छ भने कास्टिङमा चाँहि सिमेन्ट, फाइबर र धातुको प्रयोगबाट मूर्ति बनाइन्छ ।

गैँडाको मस्कट फाइबरबाट बनाइएको हो । पछिल्लो समय फाइबरबाट मूर्ति बनाउने प्रचलन बढ्दै गएको मूर्तिकार सूर्य बताउँछन् । फाइबरको प्रयोगबाट कम मूल्यमा छिटोछरितो मूर्ति बनाउन सकिने उनले बताए । उनका अनुसार फाइबर र रेजिन केमिकलको प्रयोगबाट गैँडाको मस्कट बनाइएको हो ।

यो मूर्ति बनाउनुअघि सुरुमा माटोको नमूना मूर्ति बनाइएको हो । ‘माटोबाट बनाइने मूर्तिमा डिटेल वर्क गर्छौँ, कलाकारिताको काम यसमा हुन्छ ।त्यसपछि अर्को आउँछ, मोल्ड मोडलिङ । त्यसमा हामीले प्लाष्टरको डाइ बनाऔँ । त्यसपछि डाइका टुक्रा जोडेर फाइबर र रेजिन मिलाएर राखेपछि अन्तिम रुप तयार भयो,ु उनले भने ।

तेस्रो चरणमा मात्रै प्रदर्शनमा राख्न मिल्ने मूर्ति तयार भएको उनले बताए । जनावर र मानिसको शरिरजस्तो देखिनेगरी ‘मिक्स’ गरेर मूर्ति बनाइएकाले यसलाई मस्कट भनिएको उनको भनाइ छ ।

आरामले बनाएको भए मस्कट बनाउन कम्तिमा दुई महिना लाग्थ्यो । आकस्मिक रुपमा बनाउनु परेकाले मूर्तिकारको टिमले दिनरात काम गरेर १० दिनमा तयार पारेको उनले बताए ।

‘दिनमा मात्रै गरेर सम्भवै थिएन । तीन वटा टोली बनाएर १०औँ दिनमा मूर्ति तयार गरियो,ु उनले भने । तीन वटा टोली भएर १० जना मूर्तिकारले मस्कट तयार गरेका हुन् । मूर्तिमा प्रयोग हुने फाइबर र रेजिनको मूल्य अत्याधिक बढेकाले मस्कटको लागत पनि बढेको उनले बताए ।

‘भारतबाट आयात हुने चिज हो । पहिला केजीको २७० रुपैयाँसम्म पर्ने रेजिन अहिले केजीको चार सयसम्म परेको छ,ु उनले भने, ‘डेढ लाख जति त कच्चा पदार्थमै प्रयोग भएको छ । मूर्तिकारको पारिश्रमिक पनि जोड्दा साढे तीन लाख भन्दा बढी लागत पुगेको छ ।’ मस्कट राख्नको लागि महाधिवेशन उद्घाटन स्थलमा बेस बनाउने काम भइरहेको छ ।

भरतपुर महानगरपालिका–९ गोन्द्राङका मूर्तिकार सूर्यले गैँडाको मस्कटको मूर्ति पहिलो पटक बनाएका हुन् । उनले व्यावसायिक रुपमा मूर्ति बनाउन थालेको २० वर्ष भइसक्यो ।

विशेषगरी उनले गैँडालगायतका जंगली जनावर, बुद्ध र शहिदका मूर्ति बनाउने गरेका छन् । उनले सुनसरी, उदयपुर, बुटवल लगायतका स्थानमा गएर पनि मूर्ति बनाउने गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार