कांग्रेस प्युठानमा तनाव: प्रहरीद्वारा अश्रुग्याँस प्रहार, ६ जना घाइते

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्युठानमा जिल्ला सभापतिको अधिवेशनमा तनाव भएको छ । स्वर्गद्वारी क्याम्पसमा अधिवेशन सम्पन्न भई मतगणना भइरहेका बेला तनाव भएको हो ।
कुल १०६५ मत खसेकोमा ६५ मत गणना गर्न बाँकी रहँदा केही युवाले ढुंगामुढासहित अवरोध गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय प्रमुख सत्यनारायण थापाले भने, ‘मतपरिणाम अन्तिम अवस्थामा पुग्दै गर्दा एक जत्थाले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले ५ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । दुई जना प्रहरीसहित ६ जना घाइते भएका छन् ।’
उनका अनुसार एक जना प्रहरी, एक सशस्त्र प्रहरी र अन्य चार जना सर्वसाधारण घाइते भएका छन् । घाइते प्रहरी कर्मचारी चन्द्रबहादुर गाहा मगरलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भुसालले अहिले अवस्था नियन्त्रणमा रहेको बताए । तर केही समयका लागि मतगणना रोकिएको र चाँडै सुरु गरिने उनको भनाइ छ । ‘बत्तीको व्यवस्था गरेर चुँडिएको डोरी मर्मत गरेर सुरु गर्ने तयारी निर्वाचन कार्यालयको छ,’ उनले भने । बाहिरबाट क्याम्पसमा ढुङ्गा प्रहार भएपछि घटना भएको उनले जानकारी दिए ।
उनका अनुसार घटनामा संलग्न भएको भनेर कसैलाई नियन्त्रणमा लिइएको छैन ।
Loading...