रुपन्देही-२ मा पौडेल पक्षका उम्मेदवार कुटिए, मतगणना स्थगित

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशनमा उम्मेदवार कुटिएको घटना सेलाउन नपाउँदै बुटवलमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका क्रममा अर्का उम्मेद्वार कुटिएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत रुपन्देहीको क्षेत्र नम्बर २ को निर्वाचन अन्तर्गत मतगणनाका क्रममा दुई पक्षबीच कुटाकुट भएको हो । मतगणना चलिरहँदा विवाद भएपछि दुई गुटबीच झडप हुँदा पौडेल प्यानलका उम्मेद्वार दीर्घबहादुर केसी (कुमार) गम्भीर घाइते भएका छन् । उनी महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए ।

देउवा समूहका कार्यकर्ताबाट भएको कुटपिटका क्रममा केसीको मुखमा गम्भीर चोट लागेको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको कांग्रेस नगर सभापति खेलराज पाण्डेले जानकारी दिए । विवादले उग्ररुप लिई झडप भएपछि मतगणना स्थगित भएको छ । कुल ६६९ मतमध्ये ६०० मत गनिसक्दा पौडेल पक्षले अग्रता लिएपछि विवाद सुरु भएको थियो ।

यसअघि रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा क को मतगणनाका क्रममा विवाद हुँदा देउवा पक्षको आक्रमणमा परी पौडेल पक्षका उम्मेदवार शैलेश पन्तसहित पाँचजना घाइते भएका थिए । सो क्षेत्रमा अझै रोकिएको मतगणना सुरु हुन सकेको छैन ।

यो घटना सेलाउन नपाउँदै क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनमा दुई पक्ष कुटाकुटमा उत्रिएका हुन् । यो क्षेत्रमा पौडेल पक्षबाट वर्तमान क्षेत्रीय सभापति रहेका हरि लम्साल र देउवा पक्षबाट मजदूर नेता काजीमान श्रेष्ठ नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार