विद्यार्थीलाई विद्यालयमै कोभिडको खोप

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीलाई विद्यालयमै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताएका छन् ।

मंगलबार विद्यालय शिक्षाको समग्र शिक्षाको सुधारका लागि ३१ बुँदे प्राथमिकता सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । सबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप प्रदान गरिने विषयलाई मन्त्री पौडेलले पहिलो प्राथमिकता दिएका छन् । तर, कति समयभित्रमा खोप उपलब्ध गराइसक्ने भन्ने विषयमा भने उनले स्पष्ट पारेका छैनन् ।

संघीय शिक्षा ऐनलाई सकेसम्म छिटो जारी गर्ने, शिक्षक दरबन्दी मिलान तथा स्थायी शिक्षक पदपूर्तिको लागि प्रक्रिया आरम्भ गरिने, हरेक स्थानीय तहमा न्युनतम एउटा प्राविधिक विद्यालय स्थापना गरिने विषय आफ्नो प्राथमिकतामा रहेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले बताए ।

निजी विद्यालय सञ्चालकले कानुनमा तोकिए अनुसार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको वा नगराएको विषयमा कडा अनुगमन गरिने पनि पौडेलले बताए ।

शिक्षक अस्पताल स्थापनाको प्रक्रिया छिटो आरम्भ गरिने, सामुदायिक विद्यालयको स्तरवृद्धिका लागि जारी गरिएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको प्रभावकारी कार्यान्वयन, शैक्षिक सुधार तथा प्रविधि विस्तारका लागि वैदेशिक लगानीलाई आकर्षण गर्ने विषय पनि आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार