खेलाँचीले कोरोना जोखिम झन् बढ्यो

भारतबाट फर्किरहेका ५ प्रतिशत नेपालीमा कोरोना संक्रमण देखिएको छ । कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका नेपालीको एन्टिजेन परीक्षण गर्दा यो अवस्था देखिएको हो । दुवै नाकामा शनिबारसम्म ९ हजार जनाको परीक्षण गरिएकामा ४ सय १७ जनामा कोरोना पुष्टि भएको हो ।

तर, मुख्य नाकामा परीक्षण चलिरहे पनि खुला सीमाबाट आउजाउ रोकिएको छैन । प्रदेश १ का खुला ठाउँ हुँदै आवागमन चलिरहेकै छ । जसकारण कोरोनाको जोखिम झन्–झन् बढेको नियामक निकायकै पदाधिकारी स्वीकार गर्छन् ।

भारतमा दिनदिनै कोरोना संक्रमण बढिरहेका बेला नयाँ वर्ष र चैते दसैँ मनाउन नेपाली घर फर्किनुले सुदूरपश्चिम प्रदेश उच्च जोखिममा परेको छ । प्रदेश १ मा त किनमेलकै लागि नेपाल–भारत आउजाउ चलिरहेको छ ।

गौरीफन्टाबाट दैनिक १५ सय र गड्डाचौकीबाट दैनिक १ हजार जना नेपाली स्वदेश फर्किरहेका छन् । गौरीफन्टास्थित हेल्थ डेस्क प्रमुख गणेशबहादुर साउदले शनिबार अपराह्नसम्म ३ सय ६९ जनामा कोरोना पोजिटिभ देखिएको बताए । ‘हामीले चैत १७ गतेयता भारतबाट फर्केका ७ हजार जनाको एन्टिजेन परीक्षण गरेका छौं । तीमध्ये ३ सय ६९ जनामा कोरोना पोजिटिभ देखिएको छ’, हेल्थ डेस्क प्रमुख साउदले भने ।

साउदले शनिबार साँझ ५ बजेसम्म एकै दिन ५४ जनामा पोजिटिभ देखिएको बताए। ‘शनिबार ४ सय ८३ जनाको परीक्षण गर्दा ५४ जनामा पोजिटिभ देखिएको हो । हेल्थ डेस्क राखेपछि, एकै दिनमा यती धेरै जनामा कोरोना देखिएको यो अहिलेसम्मकै बढी हो’, साउदले भने । उनले यस्तै अवस्था रह्यो भने कोरोना फेरि समुदायस्तरमा फैलिन सक्ने बताए । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा विूतृतमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार