आज देशभर माओवादी केन्द्रको वडा सम्मेलन

आज नेकपा माओवादी केन्द्रको देशभर वडा सम्मेलन हुँदैछ । सदस्यता नवीकरण सकेर माओवादीले तल्ला तहका अधिवेशन प्रक्रिया सुरु गरेको हो । देशभर ६ हजार ७४३ वटा वडा छन । माओवादी केन्द्रले सबै वडामा एकैदिन नेतृत्व चयन गर्न लागेको हो ।

माओवादीले वडा अधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सम्भव नभए निर्वाचनमा जान तल्ला निकायलाई निर्देशन दिएको छ । शुक्रबार प्रेस विज्ञप्ति निकालेर प्रवक्ता कृष्णबहादुर महराले विभाजित नभइ वडा सम्मेलनमा सहभागि हुन अपिल गरेका थिए । ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ नाराका साथ माओवादीले वडा सम्मेलन गर्न लागेको हो ।

माओवादीले मंसिर ११ मा सबै पालिकामा र मंसिर २५ मा सातै प्रदेशमा अधिवेशन सक्ने कार्यतालिका बनाएको छ । अन्तरिम विधान २०७८ ले पार्टीका विभिन्न तह र जनवर्गीय संगठनका केन्द्रीय निकायको निर्वाचन गर्न केन्द्रीय निर्वाचन आयोगको व्यवस्था गरेको छ । माओवादीले सदस्यता नवीकरण पनि टुंग्याएको छ ।

यस्तै वडा सम्मेलनको क्रममा विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर समाजवादी क्रान्तिको यात्रामा लाग्न आम समुदायलाई आग्रह गरिएको छ ।

‍आगामी मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा माओवादी केन्द्रले नेतृत्व चयनका लागि सम्मेलन गर्ने जनाएको छ । यस्तै पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलनको घोषणा गरेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार