वार्ताका लागि आह्वान गर्दै नेपाल बारलाई प्रधानन्यायाधीशले पठाए पत्र

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वार्ताका लागि आह्वान गर्दै नेपाल बार एशोसिएशनलाई पत्र पठाएका छन् ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई जबराले शुक्रबारउक्त पत्र पठाएका हुन् । बारको कार्यसमिति बैठकमा पत्रबारे जानकारी समेत गराइएको छ ।

बार महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीशको पत्र आए पनि त्यसको कुनै औचित्य नभएको बताए। पौडेलले भने, ‘‘पत्र आएको छ । बैठकमा यसबारे जानकारी पनि गराइएको छ । तर, उहाँलाई हामीले प्रधानन्यायाधीश नै मानेका छैनौँ, यो पत्रको कुनै औचित्य छैन । हाम्रो आन्दोलन रोकिन्न । बटमलाइन भनेको राजीनामा नै हो ।’’

पत्रमा जबराले न्यायालयको शुद्धीकरण अभियानका लागि आफू तत्पर रहेको जानकारी दिएका छन् । उनले वार्ता र संवादबाट मात्र समस्याका निकास निस्कने भन्दै वार्ताका लागि बारलाई आह्वान गरेका हुन् । यसअघि पनि जबराले वक्तव्य जारी गरेर वार्ताका लागि आह्वान गरेका थिए ।

Loading...