एमालेलाई समाजवादीले इतिहासको विषय बनाउने नेपालको दाबी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्ने दाबी गरेका छन् ।

आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एमालेलाई समाजवादीले इतिहासको विषय बनाउने दाबी गरेका हुन् ।

समाजवादी पार्टीतर्फ जनताको आकर्षण देखेर केही नेता आत्तिएको भन्दै अध्यक्ष नेपालले आमनिर्वाचनसम्म गठबन्धन सहकार्य गरेर अघि बढ्ने बताए । उनले भने, “राष्ट्रियसभा र उपनिर्वाचनमा संयुक्तरुपमा अघि बढेर जितेर देखाउँछौँ ।” अन्य निर्वाचनको विषयमा सकारात्मक रुपमा छलफल भइरहेको उनको भनाइ छ ।

एक फरक प्रसङ्गमा उनले सर्वोच्चमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बताए । पाँच दलबीच यस विषयमा छलफल भइसकेको र निर्णय पनि भएको भन्दै उनले प्रधानमन्त्रीे राज्यका निकायसँग छलफल गरी अघि बढ्ने विश्वास व्यक्त गरे । उनले भने, “केही दिनमा समस्या समाधान हुन्छ भन्नेमा छौँ ।”

एमालेको महाधिवेशनको विषयमा आफूलाई कुनै चासो नभएको नेपालले बताए । एमालेको महाधिवेशनमा पाहुना भएर जान आफूलाई समय पनि नरहेको उनले बताए ।

‘हामी डेमोक्रयाटिक पद्धतिबाट अघि बढ्ने मान्यता राखेको मान्छे । सबैको मान र सम्मान हुनुपर्छ भन्ने मान्यता राखेको मान्छे । त्यसो हुनाले नबोलाएको ठाउँमा पाहुना बन्नु हुँदैन । कसैको पाहुना हुनुपर्ने केही चासो छैन, मतलब पनि छैन । हामी आफ्नै काममा यति व्यस्त छौँ कि फुर्सदै छैन’, उनले भने ।

अहिले आफू पार्टी निर्माणमा लागि रहेको उल्लेख गर्दै उनले अब समाजवादी प्रजातान्त्रिक संस्कारअनुसार अघि बढ्ने बताए ।

Loading...