राष्ट्रियसभाको निर्वाचन माघ १२ गते गर्ने सरकारको निर्णय

सरकारले राष्ट्रियसभाको निर्वाचन माघ १२ गते गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । त्यसअनुसार निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन गर्न आग्रह गरेको थियो ।

राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालसहित २० सदस्यको पद कार्यकाल सकिन लागेको हो । पदमुक्त हुनेमा सबैभन्दा धेरै सांसद प्रमुख प्रतिपक्षी नेकपा एमालेका छन् ।

नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, नेपाली कांग्रेसका ३ र मनोनित एक सांसद बिदा हुनेछन् । २०७४ फागुनमा राष्ट्रियसभाको पहिलो निर्वाचन भएको थियो । त्यसबेला ६० जनामध्ये गोला तानेर कार्यकाल तय भएको थियो ।

पहिलो एक तिहाई सदस्य २ वर्षे कार्यकाल सकेर विदा भएका छन् । दोस्रो एक तिहाई अर्थात २० जनाको कार्यकाल गोला तानेर ४ वर्ष तोकिएकोमा अब सकिदैछ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित २० जना भने पूरा ६ वर्षे कार्यकाल पूरा गर्नेमा पर्छन् ।

एमालेका सांसदहरु सुमनराज प्याकुरेल, परशुराम मेघी गुरुङ, कोमल वली, कविता बोगटी, चक्र स्नेही, नैनकला ओझा, रामलखन चमार र अगम वान्तवा राई चार वर्षको अवधि पूरा गरेर विदा हुँदैछन् ।

यस्तै माओवादी केन्द्रबाट निर्वाचित शशीकला दाहाल, दीनानाथ शर्मा, जीवन बुढा र खिमकुमार विक पनि फागुन २० गतेदेखि पदमुक्त हुँदैछन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीमा रहेका ठगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, उदया शर्मा पौडेल र शान्तिकुमारी अधिकारी पनि बिदा हुँदैछन् । यी चारै जना नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए । एमाले विभाजन हुँदा चार जनाले नेकपा एकीकृत समाजवादी रोजेका थिए ।

यस्तै, नेपाली कांग्रेस राधेश्याम अधिकारी, तारादेवी भट्ट र दृगनारायण पाण्डे पदमुक्त हुँदैछन् । साथै अर्का मनोनित सांसद रामनारायण बिडारी पनि बिदा हुँदैछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार