मारुती सिमेन्ट गुणस्तरहीन, बिक्री-वितरणमा रोक

गुणस्तरविपरीत सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टलाई कारबाही गरेको छ । विभागले बुधबार मारुती सिमेन्ट, सिराहालाई ओपीसी ४३ ग्रेडको सिमेन्ट बिक्री वितरणमा रोक लगाउँदै कारबाही गरेको हो ।

विभागले नेपाली बजारमा गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको भन्दै यसअघि पनि मारुती सिमेन्टलाई कारबाही गरेको थियो । मारुती सिमेन्टले आफूले नपाएको गुणस्तर प्रमाण पाएको भन्दै गलत विज्ञापन गरेको थियो । यस विषयमा विभागमा उपभोक्ताको उजुरी परेपछि विभागले मारुतीलाई कारबाही गरेको थियो ।

उता, विभागले मंगलबार सो सिमेन्ट कम्पनीबाट उत्पादित सिमेन्ट प्रयोगमा रोक लगाएको छ । सो कम्पनीबाट उत्पादित ४३ ग्रेडको ओपीसी सिमेन्ट प्रयोग नगर्न र बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन पनि विभागले कम्पनीलाई निर्देशन दिएको छ ।

विभागले विभिन्न मितिमा बजार अनुगमन गरी संकलन गरिएको सो कम्पनीको ओपीसी ४३ ग्रेडको सिमेन्ट गुणस्तरहीन भएकाले सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन निर्देशन दिएको छ ।

नेपाल गुणस्तर चिह्न प्राप्त सो कम्पनीको सिमेन्ट नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन २०३७ तथा नियमावली २०४० बमोजिम कारबाहीको दायरामा ल्याएको पनि विभागले भनेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार