उद्यमशीलता विकास गर्न नबिल बैंक र दार्मा गाउँपालिकाबीच साझेदारी

नबिल बैंकले सल्यानको दार्मा गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ । बैंकले दार्मामा सञ्चालन गरेको दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रममा सो सम्झौता गरेको हो ।

सम्झौतापत्रमा नबिल दिगो बैंकिङ प्रबन्धक लीलाप्रसाद ओझा र गाउँपालिकाका अध्यक्ष  निमबहादुर केसीले हस्ताक्षर गरेका छन् । उक्त साझेदारीमार्फत गाउँपालिकाले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकको नियमअनुसार कर्जा उपलब्ध हुनेछ । साथै त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेश संघीय संसद टेकबहादुर बस्नेतले बैंक तथा वित्तीय सस्थाले उपलब्ध गराउने सेवा सुविधाको सहि सदुपयोग गर्नसके सामाजिक रुपान्तरणमा ठूलो फड्को मार्ने बताए ।त्यस्तै नबिल बैंकका कर्णाली प्रदेश प्रमुख गोपी पाण्डेले सो सम्झौताले दार्मामा स्वरोजगारी र उद्यमशीलता विकास गर्ने बताएका छन् ।

नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने र देशको श्रम भारतलगायत खाडी मुलुक पलायनको क्रमलाई न्यूनिकरण गर्न सहयोग पुर्याउने गाउँपालिकाका अध्यक्ष केसीको भनाइ छ । हाल बैंकले दार्मामा सञ्चालन गरेको दिगो बैंकिङ् तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, निमित्त प्रमुख प्रशासकिय अधिकृत, स्थानिय किसान, युवा तथा महिला उद्यमीहरुको उपस्थिति रहेको थियो । नबिल बैंकले गत असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार