नेपाल टेलिकम बन्यो संस्थागततर्फ सर्वाधिक कर तिर्ने कम्पनी

आन्तरिक राजस्व विभागले १० औँ राष्ट्रिय कर दिवसको अवसरमा सर्वाधिक कर तिर्ने विभिन्न व्यवसाय र व्यक्तिलाई सम्मान गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्मा र आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले बुधबार एक कार्यक्रमका बीच बढी कर तिर्ने करदाता र कार्यालयका प्रतिनिधिलाई सम्मान गरेका हुन् ।

जसअनुसार सबैभन्दा धेरै कर बुझाउनेमा संस्थागततर्फ नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ । निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा डाबर नेपाल प्रालि रहेको छ ।

यस्तै व्यक्तिगततर्फ सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शमशेर जबराले सर्वाधिक कर तिरेको विभागले जनाएको छ । लगातार ६ वर्षसम्म सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा सम्मानित हुँदै आएका राणा गतवर्ष भने दोस्रो स्थानमा थिए । यसवर्ष फेरि पहिलो नम्बरमा देखिएका छन् ।

सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र आयकर बुझाउने उद्योगमा सूर्य नेपाल सम्मानित भएको छ । विभागले कृषितर्फ पूर्वाञ्चल एग्रोटेक, स्वास्थ्य तथा शिक्षा सेवा क्षेत्रतर्फ नोबेल अस्पताल र पर्यटनतर्फ तारागाउँ रिजेन्सीलाई सम्मानित गरेको छ । त्यस्तै, वाणिज्य बैंकतर्फ नबिल बैंक लिमिटेड र बीमा कम्पनीतर्फ नेपाल पुनर्बिमा कम्पनी सम्मानित भएका छन् ।

छिमेक लघुवित्त वित्तीय संस्थालाई सहकारी तथा लघुवित्ततर्फ सबैभन्दा बढी कर तिर्ने संस्थाका रुपमा सम्मानित गरिएको छ । जलविद्युत्‌मा हिमाल पावर लिमिटेड र निर्यातमूलक उद्योगमा बढी कर तिर्नेमा डाबर नेपाल प्रालि रहेको जनाइएको छ । त्यस्तै, व्यापारतर्फ भाटभटेनी र विशेष उद्योगतर्फ एसियन पेन्ट्सलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार