एमाले महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाखबढी सहभागी गराइने

सहभागीहरूलाई सौराहाका होटलहरुमा विशेष छुट

नेकपा (एमाले) चितवन शाखाले पार्टीको १०औँ महाधिवेशन उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनता सहभागी गराउने गरी तयारी गरिरहेको छ । जिल्लाका ९८ वटा वडा तहबाटै महाधिवेशन उद्घाटन सत्रमा उक्त सङ्ख्याका कार्यकर्ता सहभागी गराउनका लागि विभिन्न प्रचार र तयारीका कार्यक्रम थालेको हो ।

जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार जनसहभागिता गराउनका लागि जिल्लाका सम्पूर्ण पार्टी पङ्क्तिलाई परिचालन गरिएको छ । उद्घाटन सत्रमा भरतपुर महानगरपालिकाभित्रबाट ४० हजार, रत्ननगर नगरपालिकाबाट १६ हजार, खैरहनी र राप्ती नगरपालिकाबाट १३–१३ हजार, कालिका नगरपालिकाबाट ११ हजार, माडी र ईच्छाकामनाबाट ३–३ हजार सहभागी हुने अनुमान गरिएको छ ।

यसैगरी पेशागत सङ्घ सङ्गठन र अन्यबाट थप पाँच हजार हाराहारी सहभागी हुने अनुमान गरिएको छ । जिल्लामा नेकपा (एमाले)का सङ्गठित सदस्य २५ हजार छन् । रावलले एक सङ्गठित सदस्यले कम्तीमा चारजना ल्याउने गरी एक लाख सहभागी हुने आँकलन गरिएको जानकारी दिइन् ।

महाधिवेशन उद्घाटन सत्रमा अन्य जिल्लाबाट ठूलो सङ्ख्यामा सहभागी गराइँदै छ । पाँच लाखभन्दा बढी सहभागी गराउने जनाइएको छ । चितवननबाट जनपरिचालनको नेतृत्व गरेका केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार जनसहभागिताका लागि प्रत्येक पार्टी र जनसङ्गठनलाई सक्रिय बनाइएको छ ।

यसबीचमा वडा कमिटीको बैठक, वडा र टोलटोलमा सदस्य, समर्थक र शुभेच्छुकको भेला, निमन्त्रणापत्र वितरण र प्रचार सामग्री घरघरमा पु¥याइने छ । पार्टीले वडा तथा पालिका कमिटीलाई आ–आफ्नो क्षेत्रभित्रको राजमार्गको सरसफाइ, स्वागतद्वार तथा घडा राखेर स्वागत गर्ने व्यवस्था गर्न समेत भनेको छ ।

आउँदो मङ्सिर १० गतेदेखि १२ गतेसम्म हुने महाधिवेशन उद्घाटन सत्र नारायणी नदी किनार र बन्दसत्र सौराहामा हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन् । विद्युतीय उपकरणबाट मतदान गरिने बताइएकोे छ ।

कोठा भाडामा विशेष छुट

एमाले महाधिवेशनको बन्द सत्रमा सहभागी हुनेहरूलाई कोठा भाडामा २० देखि ५० प्रतिशत छुट दिने निर्णय भएको क्षेत्रीय होटल व्यवसायी संघ चितवनका अध्यक्ष दीपक भट्टराईले बताए । एक दिनको १० हजार रुपैयाँ पर्ने कोठालाई अहिले ४५ सय रुपैयाँमा दिन खोजिएको उनको भनाइ छ ।

संघले होटललाई ‘ए’, ‘बी’ र ‘सी’ वर्गमा छुट्याएको छ । स्टार लेभलका होटललाई ‘ए’ वर्गमा राखिएको छ भने मध्यम वर्गका होटललाई ‘बी’ वर्गमा राखिएको छ । साना होटललाई ‘सी’ वर्गमा राखिएको छ ।

‘ए’ वर्गका होटलको एउटा कोठालाई प्रतिदिन ४५ सय, ‘बी’ वर्गलाई २५ सय र ‘सी’ वर्गलाई १५ सय रुपैयाँ कायम गरिएको उनले जानकारी दिए । पार्टी र व्यवसायी दुवैलाई घाटा नपर्ने गरी केही साना वर्गका कोठालाई पनि राम्रोसँग व्यवस्थापन गरिएको उनले बताए ।

‘यसअघि विभिन्न पार्टीका कार्यक्रम हुँदा पाँच-दश वटा होटलका कोठा पार्टीलाई सहयोग गर्नुपर्छ भन्ने गर्नुहुन्थ्यो । यसपालि त्यस्तो नभएको हुँदा हामीले सहुलियत दरमा कोठा र खाना उपलब्ध गराउने भनेका हौँ’, उनले भने । सौराहामा १०-१३ मंसिरसम्मका लागि सबै होटलका कोठा बुक भइसकेको उनी बताउँछन् ।

‘सौराहाका साना ठूला होटल व्यवसायीसँग भएको ६५ सय बेड हो । एमाले महाधिवेशनको प्रतिनिधिका लागि चार हजार बेड बुक भयो । त्यसका अलावा व्यक्तिगत रूपमा पनि करिब एक हजार बेड बुक भएका छन्’, उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार