दक्षिण कोरिया जानेहरूका लागि पुस १ गतेदेखि भाषा परीक्षा सुरु हुने

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा पुस १ गतेदेखि हुने भएको छ ।

विशेष कम्प्युटर प्रणालीबाट नै परीक्षा हुने वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले जनाएको छ । वैधानिक तवरले फर्केका कामदारलाई पुनः पठाउन कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभागसँग सहमति भएसँगै पुस १ देखि ७ गतेसम्म भाषा परीक्षा सञ्चालन गर्न लागिएको इपिएस शाखा कार्यालयका निर्देशक सुरेश रावतले जानकारी दिए ।

कोरोना महामारीले कोरिया पठाउने प्रक्रिया अवरुद्ध रहेकोमा अहिले उक्त प्रक्रिया सुरु भएको उनले बताए । उनले २०१७ देखि १९ मा भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरूलाई पनि डिसेम्बरदेखि कोरिया पठाउने प्रक्रिया सुरु हुने बताएका छन् । दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार