प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने नेपाल बारको निर्णय

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको छ । सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा आफूहरुको मुख्य सर्त रहेको बताउँदै विकृति, विसंगति र भ्रष्टाचारका पक्षपोषक प्रधानन्यायाधीश जबराबाट न्यायालयको गरिमा कायम हुन नसक्ने बताए ।

उनले आफूहरुको आन्दोलन न्यायालयको गरिमा कायम राख्‍नका लागि भएको बताए । ‘तपाँई राजीनामा दिएर न्यायपालिकाको गरिमा राख्नुहोस् । राजीनामा दिनुहोस्,’ अध्यक्ष श्रेष्ठले भने, ‘प्रहरी हस्तक्षेप गरेर हाम्रा साथीहरुलाई घाइते बनाउने तपाँईसँग वार्ता हुन सक्दैन । तपाँईसँग वार्ता गर्नु भनेको विकृति, विसंगति र भ्रष्टाचारको झन् संरक्षण हुन्छ । न्यायपालिकाको गरिमा कायम हुँदैन ।’

वर्तमान प्रधानन्यायाधीशको कारण नै अदालतमा भ्रष्टाचार र अनियमितता मौलाएको भन्दै न्यायपालिका शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा नै एकमात्र विकल्प भएको बारको ठहर छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार